पूर्वाञ्चल खबर
विराटनगर २५ कार्तिक/ प्रधानमन्त्रि प्रचण्डले पूर्व क्षेत्रको उद्योग व्यवसायमा रहेका समस्याहरु समाधानकालागि शुक्रवार विराटनगरमा उद्योगी व्यवसायिहरुसंग अन्तरक्रिया गर्नुहुने भएको छ ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा हुने अन्तरक्रियामा यस क्षेत्रका सबै उद्योगी व्यवसायिहरुले समाधानका उपयुक्त विकल्पसहित सुझावहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
विहान साढे ९ बजेदेखि मोरङ व्यापार संघको सभाहलमा सुरु हुने अन्तरक्रिया करिव तीन घण्टा चल्ने छ । उद्योगी व्यवसायिहरुको प्रतिनिधिमुलक सुझाव सुनेपछि प्रधानमन्त्रिले सम्वोधन गर्ने कार्यक्रम रहेको संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो ।
प्रधानमन्त्रि प्रचण्ड भोली विहान साढे ७ बजे हेलिकोप्टरबाट विराटनगरमा आउने कार्यक्रम छ । विहान उहाँले क्षेत्रीय प्रहरी कार्यालयको निरीक्षण गर्नुहुने छ भने त्यसपछि विराटनगर जुटमिलको वर्तमान अवस्थाको पूर्वाधार निरीक्षण गर्ने कार्यक्रम छ ।
अन्तरक्रिया पछि उहाँले भोली नै सुरक्षा निकायका प्रमुख तथा कार्यालय प्रमुखहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ । उहाँ भोली १ बजे सिराहामा कार्यकर्ता भेटघाटकालागि जाने कार्यक्रम रहेको प्रधानमन्त्रि कार्यालयले जानकारी दिएको छ ।