पूर्वाञ्चल खबर
धरानबाट आएकी सुस्मिता कार्कीको हातमा आफ्नै बगैँचामा फुलेको सयपत्रीको थुँगा थियो । “दुई घण्टा भइसक्यो लाइनमा बसेको, आफ्नै हातले रवि र बालेनलाई स्वागत गर्ने मन छ,” सुस्मिताको अनुहारमा उत्साह झल्किन्थ्यो । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको राप र तापले छोपेको इटहरीमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आयोजना गरेको चुनावी सभाको दृश्य हो यो ।
तर, बिहान ११ बजेदेखि कुरिरहेका सयौँ शुभचिन्तक र कार्यकर्ताका लागि त्यो पर्खाइ सोचेजस्तो सुखद रहेन । मुख्य प्रवेशद्वारमा माला र खादा लिएर लामबद्ध भिडलाई छल्दै रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन) दिउँसो ३ बजे मञ्चको पछाडिपट्टिबाट सुटुक्क उक्लिए । अगाडिको ढोकामा तीन घण्टादेखि आँखा बिछ्याएका प्रशंसकहरू झस्किए, उनीहरूको उत्साह क्षणभरमै निराशामा बदलियो । उनीहरूका लागि कार्यकर्ताले बाटो खुला राखेर स्वागतको तयारी गरे पनि नेताहरूले भने भिड छल्ने बाटो रोजे ।
बालेनको ५ मिनेट २६ सेकेन्डको भाषण
मञ्चमा उक्लिएपछि चौधरी समुदायको परम्परागत स्वागत ग्रहण गर्दै बालेनले सम्बोधन सुरु गरे । उनको शैली सधैँझैँ प्रश्नबाट सुरु भयो, “नमस्ते १ सञ्चै हुनुहुन्छ ? चिया खानुभयो त ? चिया कहाँको खानुभयो, इलाम कि दमकको ?”
५ मिनेट २६ सेकेन्डको आफ्नो छोटो मन्तव्यमा बालेनले पूर्वको कृषि, सिँचाइ र पर्यटनको सम्भावनालाई उछिने । “हाम्रै पहाडको तरकारी तराईका झापा, सुनसरी र मोरङले खान पाएका छैनन् । तराईका केही जिल्लाले मात्रै क्षमताअनुसार धान फलाउने हो भने देशभरलाई पुग्छ,” उनले भने, “तर विडम्बना, हाम्रै भान्छामा विदेशी चामल छ । यो दुःख समाधान गर्ने पार्टी रास्वपा बन्न चाहन्छ ।”
उनले धरानको खानेपानी समस्यादेखि कोशीको मेकानिकल लिफ्टिङ, बराहक्षेत्रको धार्मिक पर्यटन र उदयपुरको ‘कोस्टल एरिया’लाई इन्डोनेसियाको बाली वा माल्दिभ्स जस्तो बनाउन सकिने सपना बाँडे । उनले किरात संस्कृतिको ‘सिलम साक्मा’को उदाहरण दिँदै जसरी यसले मृत्यु छेक्छ, त्यसरी नै रास्वपाले देशलाई जोगाउने दाबी गरे ।
रविले दोहो¥याए भ्रष्टाचार फाइलको प्रसङ्ग
बालेनपछि माइक समातेका सभापति रवि लामिछानेले पुरानै आक्रामक शैलीलाई निरन्तरता दिए । उनले २०४६ सालयताका सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने उद्घोष गरे । “प्रतिशोध हुँदैन, हिसाब हुन्छ,” लामिछानेले भने, “सहकारी र लघुवित्तको समस्या समाधान गर्न नसक्नेहरूले मलाई थुन्ने षड्यन्त्र मात्र गरे । तर, रास्वपाको सरकार आएको १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्नेछौँ ।”
आधा घण्टामै विसर्जन
११ बजेदेखि सुरु भएको कार्यक्रममा विभिन्न जिल्लाका उम्मेदवारहरूले तीन–तीन मिनेट बोलेर माहोल तताएका थिए । तर, मुख्य आकर्षणका रूपमा रहेका रवि र बालेन मञ्चमा जम्मा ३० मिनेट मात्रै बसे ।
सम्बोधन सकिएपछि उद्घोषकले उम्मेदवारहरूसँग ‘सामूहिक तस्बिर’ खिचाउने जानकारी गराउँदै थिए । तर, बालेनले सुटुक्क रविको हात समातेर बाहिरिने सङ्केत गरे । कार्यकर्ताको भिडले घेर्ने डरले उनीहरू अघिल्लो ढोकाबाट होइन, मञ्चको उत्तर–पूर्वी कुनाबाट ओर्लिएर सुटुक्क गाडी चढे ।
साढे ३ बज्दा नबज्दै रवि–बालेन चढेको गाडी धुलो उडाउँदै हुइँकियो । हातमा फूल लिएर बसेकी सुस्मिता र उनीजस्ता सयौँ शुभचिन्तकहरू नेताको एक झलक पाउन मञ्चतर्फ दौडिँदा गाडी टाढा पुगिसकेको थियो । “तीन घण्टाको हुटहुटी र पर्खाइलाई आधा घण्टामै थाती राखेर रवि–बालेन सुटुक्क आए, सुटुक्कै गए,” सुस्मिताले खिन्न हुँदै भनिन् ।