AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘लौ आयो ताजा खबर’ लागुपदार्थको दलदल र सामाजिक यथार्थ समेटिएको मर्मस्पर्शी नाटक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०८२, बिहीबार १५:२५
171
Shares
विराटनगर / विराटनगरको सुशीला कोइराला नाटकघर (आरोहण गुरुकुल) मा विगत नौ दिनदेखि मञ्चन भइरहेको नाटक ‘लौ आयो ताजा खबर’ ले दर्शकको मन जित्न सफल भएको छ। सुरेन्द्र नकर्मीद्वारा लिखित र भरत कार्कीको निर्देशनमा तयार पारिएको यो नाटक आज अन्तिम पटक प्रदर्शन गरिएको छ ।

माघ २१ गतेदेखि सुरु भएको यस नाटकले वर्तमान समाजको एक गम्भीर समस्या— लागुपदार्थ दुर्व्यसनी र त्यसले परिवारमा पार्ने प्रभावलाई सशक्त रूपमा उठाएको छ। नाटकले केवल कथा मात्र नभई, सन्तानको साथी सङ्गत र व्यवहारप्रति अभिभावकले देखाउने लापरवाही र त्यसबाट निम्तिने दुःखद परिणामलाई यथार्थपरक ढंगले चित्रण गरेको छ।

नाटकका निर्देशक भरत कार्कीका अनुसार यो नाटक कुनै काल्पनिक कथा नभई हाम्रै वरपर घटेका घटनाहरूको सँगालो हो। ‘जबसम्म घटना ‘ताजा खबर’ बन्दैन, तबसम्म हामी त्यसलाई आफ्नो समस्या ठान्दैनौँ,’ निर्देशक कार्की भन्छन्, ‘यो नाटकले दर्शकलाई दोष देखाउन भन्दा पनि आफ्नै भित्र हेर्न र सचेत नागरिक बन्न प्रेरित गर्छ।’

नाटकमा लागुपदार्थ दुर्व्यसनलाई व्यक्तिको मात्र कमजोरी नभई समाज, परिवार र राज्यकै सामूहिक असफलताको रूपमा देखाइएको छ। अभिभावकले सन्तान जिउँदो छँदा बेवास्ता गर्ने र मृत्युपछि मात्र आत्मीयता देखाउने सामाजिक विडम्बनालाई मञ्चमा उतारिएको छ, जसले हलमा उपस्थित धेरै दर्शकलाई भावुक बनाएको थियो।

आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले नाटकलाई दर्शकहरूले अत्यधिक रुचाएको जानकारी दिए। ‘विराटनगरका नाट्यप्रेमीहरूको उत्साहजनक सहभागिताले हामीलाई थप ऊर्जा मिलेको छ,’ क्षेत्रीले भने, ‘आगामी दिनमा पनि यस्तै सन्देशमूलक र सामाजिक विषयवस्तुमा आधारित नाटकहरूलाई निरन्तरता दिने हाम्रो योजना छ।’

कक्षा ११ को अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समेत समावेश यो नाटकले विद्यार्थीहरूका लागि पनि उत्तिकै महत्व राखेको छ। नाटकमा सुदीप जङ्ग कार्की, निशान चौहान राई, राज न्यौपाने, सञ्जय मुडियारी, आश्मा देव राठी लगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ। अन्तिम दिन भएकाले छुटेका दर्शकहरूलाई नाटक हेरेर सचेतना फैलाउने यस अभियानमा सहभागी हुन आयोजकले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर