पूर्वाञ्चल खबर
विराटनगर । साबिक उपविजेता सुदूरपश्चिम रोयल्सनेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अपराजित यात्रा कायम राख्ने प्लेअफमा स्थान पक्का गरेको छ ।
सुदूरपश्चिम रोयल्सले आज भएको खेलमा साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध ६ विकेटको जित निकाल्दै प्लेअफमा स्थान पक्का गरेको हो ।एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । पाँच खेलबाट १० अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिमले लिग चरणमा चितवन र विराटनगरसँग खेल्न बाँकी छ ।
लगातार चौथो खेलमा हार भोगेसँगै साविक विजेता जनकपुर बोल्ट्सको प्लेअफमा पुग्ने अब अंकगणितीय सम्भावना मात्र बनेको छ । जनकपुरले अब चितवन राइनोज, लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ । अंकगणितीय झिनो सम्भावना कायम रहेपनि जनकपुरले प्लेअफ पुग्न आफ्नो बाँकी ३ खेल मात्र जितेर पुग्दै बाँकी टिमको नतिजा पनि आफूअनुकुल आउनुपर्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरले प्रस्तुत गरेको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७ दशमलव ४ बलमा चार विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा इशान पाण्डेले अर्धशतकीय इनिङ खेले । उनले ३५ बलमा आठ चौका र एक छक्का प्रहार गरे । ओपनर विनोद भण्डारीले ४२ रन थपे ।
त्येस्तै हर्मित सिंहले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे ।
जनकपुरका माज सदाकतले दुई विकेट लिन्दा सञ्जय कृष्णमुर्थी र आदित्य महताले १/१ विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
जनकपुरका सञ्जय कृष्णमुर्थीले सर्वाधिक ५० रनको योगदान गरे । उनले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरे । इटोनले ३३ बलमा दुई चौका र दुई छक्कासहित ३९ रन थपे ।
सुदूरपश्चिमका अभिनाश बोहराले ४ विकेट लिए । चार ओभरमा अभिनाशले ३० रन खर्चिए । स्कट कुग्गेलिनले ३ विकेट र कप्तान दीपेन्द्रसिंह ऐरीका नाममा १ विकेट रह्यो ।
यो खेलमा जनकपुरले कप्तान परिवर्तन गरेको थियो । सुदूरपश्चिमविरुद्ध जनकपुरले कप्तानी जिम्मेवारी दक्षिण अफ्रिकाका वायन पार्नेललाई दिएको थियो । खेलमा नियमित कप्तान अनिलकुमार साह प्लेइङ–११ मा थिएनन् ।