AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सोमवार विराटनगरमा हुँदै 

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ मंसिर २०८२, शनिबार १७:२९
45
Shares
विराटनगर / विभिन्न १५ वामपन्थी राजनीतिक दलहरू मिलेर बनेको नवगठित ‘नेपाली कम्युनिष्ट पार्टी’ले सोमबार विराटनगरमा विशाल ‘एकता सन्देश सभा’को आयोजना गर्ने भएको छ ।

मुलुकमा देखिएको राजनीतिक अन्यौलता चिर्दै पार्टी एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

विराटनगरस्थित पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजे हुने सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उक्त ऐतिहासिक एकता सभालाई पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायत एकता प्रक्रियामा सहभागी भएका सबै घटकका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

नेताहरूले देशलाई स्थिर राजनीतिक दिशा दिने र सुशासन तथा समृद्धिको यात्रालाई पुनः गतिशिल बनाउने विषयमा आफ्ना धारणा राख्ने बताइएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता शिवकुमार डाँगीका अनुसार भोलिको सभामा कोशी प्रदेशभरबाट १० हजारभन्दा बढी जनसहभागिता रहने अपेक्षा गरिएको छ । “हामीले सभाको तयारी पूरा गरेका छौं,” डाँगीले भने, “यो केवल भाषण गर्ने थलो मात्र होइन, विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै नयाँ सिराबाट अघि बढ्ने प्रस्थान विन्दु पनि हो ।”

सभालाई भव्य र व्यवस्थित बनाउन आर्थिक, प्रचार–प्रसार, स्वयंसेवक, मञ्च व्यवस्थापन, सांस्कृतिक, स्वास्थ्य र जनपरिचालन लगायतका उपसमितिहरू गठन गरेर काम अन्तिम चरणमा पुर्‍याइएको पार्टीले जनाएको छ ।

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार २०८२ कात्तिक १९ गते १० राजनीतिक दलहरू बीच एकता भई गठन भएको यो पार्टीमा हाल १५ दल आवद्ध भइसकेका छन् । विशेषतः ‘जेनजी आन्दोलन’ पछि विकसित नयाँ परिस्थितिमा मुलुकलाई राजनीतिक निकास दिन र तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न अनुकूल वातावरण बनाउन यो सभा आयोजना गरिएको हो ।

पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, र शिक्षा–स्वास्थ्यलाई सर्वसाधारणको पहुँचमा ल्याउँदै समाजवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ । विराटनगरको यो सन्देश सभाले देशलाई अन्यौलताको चक्रवाटबाट बाहिर निकाल्ने रणनीति अनुसार काम गर्ने नेताहरूको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर