AArya
RUMPUM
animated ellipse animated ellipse

आन्दोलन उग्र बनेपछि सुनसरीको इटहरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०८२, सोमबार १८:५३
36
Shares
विराटनगर/ सुनसरीको इटहरीमा (जेन–जी) पुस्ताले गरेको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको छ भने स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरुद्धमा युवाहरुले आयोजना गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि स्थिति तनावग्रस्त बनेको हो ।

आन्दोलनकारीहरु इटहरी उपमहानगरपालिकाको कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा दुवैतर्फ केही घाइते भएको जनाइएको छ । प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा ठप्प बनेको थियो, जसले गर्दा यातायात आवागमनमा गम्भीर असर परेको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिमल्सिनाले अवस्था नियन्त्रण बाहिर गएपछि बल प्रयोग गर्नु परेको बताए । उनले भने, ‘हामीले सबै बल प्रयोग गरिरहेका छौं, अझै पनि अवस्था नियन्त्रण बाहिर छ ।’

आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम मिति २०८२ साल भदौ २३ गते दिउँसो ३ ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि इटहरी उपमहानगरपालिका भित्र कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा जारी आदेश अनुसार कर्फ्यूको चार किल्ला निम्न अनुसार तोकिएको छ । उत्तरस्हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोक र पूर्वमा मिलन चोकदेखि जुट विकास भित्रदक्षिणमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिणतिर यातायात कार्यालय साथै पेट्रोल पम्प, पुष्पलाल चोक हुँदै बस पार्क क्षेत्र भित्र , पश्चिममा कलंकी मोडदेखि जनता बस्ती भित्र तोकिएको छ ।

कर्फ्यू आदेश जारी भएसँगै तोकिएको सिमानाभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, र घेराउ गर्न नपाइने गरी रोक लगाइएको छ ।

‘जेन–जी’नामले चिनिने सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवाहरुले केही दिनदेखि सामाजिक सञ्जालमार्फत संगठित भई देशव्यापी आन्दोलनको आह्वान गरेका थिए । सोही आह्वान अनुसार इटहरीमा विहान ११ बजेदेखि प्रदर्शन सुरु भएको थियो । काठमाडौँ लगायत देशका अन्य सहरमा पनि यस्तै प्रदर्शनहरु भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर