AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश खेलकुद बोर्डमा विवाद : तीन पटकसम्म बैठकमा अनुपस्थित भए पछि तीन सदस्य बर्खास्त, अदालत जाने चेतावनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ भाद्र २०८२, बिहीबार १७:१६
261
Shares
विराटनगर / कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद क्षेत्रमा व्याप्त विकृति र विसंगतिको चर्को विरोध गर्दै आएका तीन जना बोर्ड सदस्यहरुलाई बर्खास्त गरेको छ । जसले बोर्डभित्र हलचल मच्चाएको छ ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ३१ औँ बैठकले रोशनी राई, सन्दिप राई र जिवनी राईलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले विधानअनुसार लगातार तीन पटकसम्म बैठकमा अनुपस्थित भए कारबाही गर्ने प्रावधान रहेको भन्दै तीनै जना सदस्यहरु पाँच पटकसम्म अनुपस्थित भएकाले बर्खास्त गरिएको जानकारी दिए । बर्खास्त गरिएका रोशनी र सन्दिप राई एकीकृत समाजवादी निकट मानिन्छन् भने जिवनी राई माओवादी केन्द्र निकट हुन् । उनीहरु तत्कालिन सामाजिक विकास मन्त्री राजन राईको पालामा २०७९ साउन १२ गते बोर्ड सदस्यमा नियुक्त भएका थिए ।

यद्यपि, बर्खास्तमा परेकी सदस्य रोशनी राईले भने यो निर्णयलाई खेलकुदभित्रको भ्रष्टाचार र अनियमितताको विरोध गर्दा आफूहरूलाई निशाना बनाइएको आरोप लगाएकी छिन् । उनले सदस्य सचिव पशुर्राम बस्नेतको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएको र यही कारण आफूसहित दुई साथीलाई नियोजित रूपमा बर्खास्त गरिएको दाबी गरेकी छिन् ।

‘म खेलाडी हुँ । त्यसैले म सधैं खेलकुदभित्र भएको विकृति र विसंगतिको हिजो पनि विरोध गर्थें, आज पनि गर्छु र भोलि पनि गर्नेछु,’ रोशनी राईले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै लेखेकी छिन्, ‘म सधैं खेलकुदभित्रको भ्रष्टाचार, अनियमितता, गलत निर्णयहरूको विषयमा बोल्ला म सहित अरु दुई जना साथीहरुलाई पनि बोर्डबाट हटाइएको कुरा सुन्दैछु । यदि हो भने खेलकुद कसैको घर र पार्टी कार्यालय होइन र खेलकुदमा राजनीति कसैले पनि गर्न मिल्दैन । कानुनको पालना सबैले गर्नु पर्छ र म पनि कानुनको बाटोमा हिंड्नेछु ।’

बोर्ड सदस्य जीवनी राईले बैठक बारेमा जानकारी नगराइ कारवाही गरिएको असन्तोष व्यक्त गरेकी छिन् । यसअघि पनि बोर्ड सदस्य रोशनी राईले कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेश स्तरीय जुडो प्रतियोगितामा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएपछि त्यसको पारदर्शिता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएकी थिइन् ।

राष्ट्रिय जुडो प्रशिक्षक समेत रहेकी रोशनीले जुडो प्रतियोगिता एक निजी क्लब ‘विराट कोशी जुडो क्लब’ लाई सुम्पेर आयोजना गरिएपछि सशक्त विरोध जनाएकी थिइन् ।

रोशनी राईले बोर्डको यो अन्यायपूर्ण निर्णयविरुद्ध कानुनी उपचार खोज्न अदालत जाने चेतावनी दिएकी छिन् । यस घटनाले कोशी प्रदेश खेलकुद विकास बोर्डमा राजनीतिक चलखेल, कार्यकर्ता पोस्ने र आफ्नै प्रभावमा रहेका संघसंस्थाहरूलाई लाभ पुर्याउने सदस्य सचिव बस्नेतमाथि लाग्दै आएका आरोपहरूलाई थप बल पुर्याएको छ, जसले प्रदेशको खेलकुद विकासमाथि नै प्रश्नचिह्न खडा गरेको छ । सदस्य सचिव बस्नेत एमाले कोशी प्रदेशका सदस्य पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर