पूर्वाञ्चल खबर

कलेजका प्राचार्य भुवन नेपालका अनुसार, यस वर्षको परीक्षामा ३७ जना विद्यार्थीले ३.६१ देखि ३.९६ जीपीए, ३५८ जनाले ३.२१ देखि ३.६० जीपीए, १८७ जनाले २.८१ देखि ३.२० जीपीए, १५३ जनाले २.४१ देखि २.८० जीपीए र ७४ जनाले २.०१ देखि २.४० जीपीए ल्याएका छन् । विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेसँगै कान्तिपुर कलेज नेपालकै उत्कृष्टमध्ये एकको रूपमा स्थापित भएको प्राचार्य नेपालले बताए ।
प्राचार्य नेपालले भने, “हामी विद्यार्थीको केवल अंकमा होइन, जीवनका हरेक क्षेत्रमा सफलता दिलाउने शिक्षामा विश्वास गर्छौँ ।“ उनका अनुसार, कलेजले प्रयोगात्मक अध्ययन, अनुभवी शिक्षक, अन्तरक्रियात्मक पठनपाठन र प्रविधिमैत्री शैक्षिक वातावरणमार्फत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि सक्षम बनाउँदै आएको छ । कलेजको मुख्य उद्देश्य विद्यार्थीहरूलाई मेडिकल, इन्जिनियरिङ, बैंकिङ र निजामती सेवा जस्ता क्षेत्रमा सफल बनाउनु रहेको उनले बताए ।“संस्कारसहितको सीपमूलक शिक्षामा जोड दिई प्रयोगात्मक सिकाइमा जोड दिनु कान्तिपुर कलेजको विशेषता हो,“ प्राचार्य नेपालले स्पष्ट पारे । विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन पढ्न चाहने विद्यार्थीका लागि कलेज पहिलो रोजाइ बन्दै गएको उनको भनाइ छ । हाल कलेजको कक्षा ११ र १२ मा करिब २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
यसका साथै, प्राचार्य नेपालले २०८१ सालको एसईई परीक्षामा यसै विद्यालयकी छात्रा आयुषा कार्कीले ४.०० जीपीए ल्याएर उत्कृष्टता कायम गरेको जानकारी दिए । कलेजले आफ्नो आधुनिक विज्ञान प्रयोगशाला, अनुसन्धानमुखी पाठ्यक्रम र निरन्तर परामर्शका कारण देशको शिक्षा प्रणालीमा उदाहरणीय स्थान बनाएको दाबी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेसँगै विराटनगरका अन्य निजी तथा सामुदायिक विद्यालयहरूले पनि उत्कृष्ट नतिजा हासिल गरेको दाबी गरेका छन् ।