पूर्वाञ्चल खबर
विराट गोल्ड कप प्रतियोगिता २०८१ का संयोजक नविन रिजालले सुरक्षा निकायका पदाधिकारीहरूलाई प्रतियोगिताका विषयमा जानकारी गराएका थिए । उनले ७ हजार ५ सय दर्शक अटाउने क्षमता रहेको विराटनगरको सहिद रंगशाला र यसको वस्तुस्थितिका विषयमा समेत व्रिफिङ गरेका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी तथा तथा सुरक्षा निकायका पदाधिकारी सम्मिलित छलफलमा रात्रीकालिन फुटबल प्रतियोगितामा खेल मैदान भित्र पनि हुनसक्ने सम्भावित जोखिम र व्यवस्थापनका विषयमा छलफल भएको थियो । यहीँ फागुन १९ देखि २८ गतेसम्म सहिद मैदानमा दिवा रात्री कालिन समयमा फुटबल प्रतियोगिता हुदैछ ।
छलफल कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजन अधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी तिलक प्रसाई, सशस्त्र प्रहरी डिएसपी सुधिर खतिवडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायव निरीक्षक यज्ञराज शर्मा, विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल साह लगायतको सहभागिता रहेको थियो ।
नेपालका ८ र भारतका २ गरी १० टिमको सहभागिता रहने खेल भएकोले खेलाडी, दर्शक, दर्शकको सवारी साधन र अन्य सुरक्षार्थ सवै खाले सहयोगका लागि आयोजकले आग्रह गरेको थियो । छलफलसंगै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोल्डकप फुटबल प्रतियोगिताका लागि आवश्यक सवैखाले सुरक्षाको व्यवस्थापन गर्ने बताए ।