प्रधानमन्त्रीको पछिल्लो कदम असंवैधानिक–वरिष्ठ नेता पौडेल

खबर पूर्वाञ्चल, १० माघ २०७७, शनिबार २१:४०

विराटनगर / नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई नेपाली काङ्ग्रेसले असंवैधानिक भनिसकेकोले संसद पुनःस्र्थापना हुनु पर्ने बताएका छन् ।

आज विराटनगरमा दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले आयोजन गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

राजनीतिक दलका नेताले स्वार्थ भन्दा माथि उठेर देश विकासमा लाग्नु पर्ने सुझाव दिँदै नेता पौडेलले पार्टी भित्रको झगडाले संसद विघटन गर्नु न्याय सम्मत नभएको बताए । उनले पाँच वर्ष चल्नु पर्ने सरकारलाई बीच बाटैमा तुहाएर निर्वाचनमा जानु प्रक्रियाले मुलुकमा भ्रष्टाचार बढ्ने, गरिबी बढ्ने तर्क गर्दै न्यायलयले जनताका आवाज सुन्नु बताए ।

अहिले लोकतन्त्र र प्रजातन्त्र माथि प्रहार मात्र होइन आघात भएको छ भन्दै वरिष्ठ नेता पौडेलले देश अहिले गम्भीर अवस्थामा छ, इतिहासबाट पाठ सिकेर संसद पुनःस्र्थापना हुनु पर्ने कुरामा जोड दिए । नेपाली काङ्ग्रेसले प्रमुख प्रतिपक्ष भएपनि कहिले पनि संसद र सडकमा अवरोध सिर्जना नगरेको स्पष्ट पार्दै पार्टी बीचको झगडालाई संसद विघटन गर्ने कुराले समाधान नहुने बताए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले प्रतिनिधि सभा विघटनले गर्दा मुलुकमा अन्यौलता छाएको भन्दै संविधान र लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नु पर्ने बताए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र डा डीला सङ्ग्रौलाले राजनीतिक विधि र पद्धति अनुसार चल्नु पर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले जनतालाई गरिबी तर्फ धकेल्ने वर्तमान राजनीतिक परिस्थितिले गर्दा राजनीतिक दल र जनता सडकमा आएको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले साहित्य र स्रष्टा देशका गहना भएकोले यसको सम्मान गर्नु राम्रो भएको बताए ।
यस अघि प्रतिष्ठानले चार जना स्रष्टालाई सम्मान एवं पुरस्कृत गरेको थियो । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७७’ बाट कवि एवं गीतकार एसपी कोइराला(शङ्कर कोइराला) र सोही पुरस्कार २०७६ बाट वरिष्ठ कवि विष्णुविभु घिमिरेलाई प्रदान गरिएको छ ।

‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७७’ बाट २५ हजार राशिको पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरही र गएको वर्ष सोही पुरस्कार वरिष्ठ पत्रकार मोहन भण्डारीलाई प्रदान गरिएको छ ।

पुरस्कार लागि समालोचक प्राज्ञ सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्ने गरेको समालोचकका छोरा एवं पत्रकार शरदराज सुवेदीले जानकारी दिए ।

गत वर्ष पुरस्कृत साहित्यकार घिमिरे र पत्रकार भण्डारीलाई कोभिड– १९ का कारणले सो वर्ष पुरस्कार समर्पण गर्न नसकिएकोमा यस वर्ष प्रदान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५