विराटनगर, १७ चैत / एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिता नेपालले सान्त्वना जित हात पारेको छ ।
बंगलादेशमा आज भएको खेलमा हङकङलाई ७ विकेटले पराजित गरी प्रतियागिताबाट बाहिरीसकेको नेपालले सान्त्वना जित हात पारेको हो ।
हङकङले दिएको २ सय १५ रनको लक्ष्य नेपालले ४४ दशमलव २ बलमा ३ विकेट गुमाई पार गरेको थियो । नेपालको जितमा शरद भेष्वाकर र दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि १ सय ४ बलमा अविजित १ सय ५ रनको शतकीय साझेदारी गरेका थिए । शरदले ५१ बलमा ३ छक्का र ३ चौका प्रहार गरी ५५ रन र दिपेन्द्रले ८२ बलमा खेली १ छक्का र ५ चौका ६० रन बनाए ।
नेपाल उत्कृष्ट सुरुवात गरेको थियो । नेपालका लागी कप्तान ज्ञानेन्द्र र आसिफ शेख पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरे । ११ औं ओभरमा आसिफ ८ रनमा आउट भएपछि आएका दिलिपनाथले कप्तानसँग मिलेर ४४ रनको साझेदारी गरे ।
दिलिपल १२ रनमा आउट भएका थिए । २६ औं ओभरमा कप्तान ज्ञानेन्द्र मल्ल ७० रनको स्कोरमा आउट भए । उनले ८२ बल खेल्दै ११ चौका प्रहार गरे ।
यसअघि शेख कमल अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङको निम्तोे पाएको हङकङले निर्धारित ओभरमा सवै विकेट गुमाई २ सय १४ रनको सम्मान जनक रन जोडेको थियो । उसका लागि ओपनरहरु अन्सुमन राथले ५१ तथा क्यामरुन मकल्सेनले ४३ रन जोडे का थिए ।
हङकङको सुरुवात नेपालको भन्दा निकै राम्रो रहेको थियो । उनीहरुले पहिलो विकेटका लागि २१ ओभरमा ९५ रनको साझेदारी गरेका थिए ।
बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले ३ विकेट लिँदा ज्ञानेन्द्र मल्ल, भुवन कार्की र शुशान्त भारीले समान २ विकेट तथा सन्दिप लामिछानेले १ विकेट लिए ।