AArya
RUMPUM
animated ellipse animated ellipse

बाढी पहिरो र चट्याङ लागेर कोशी प्रदेशमा दुई दिनमा आठ जनाको मृत्यु, तीनजना बेपत्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ असार २०८१, बुधबार १८:४३
99
Shares
विराटनगर / बाढी पहिरो र चट्याङ लागेर कोशी प्रदेशमा दुई दिनमा आठ जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा र सुनसरीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । बाढीका कारण मोरङमा तीन, झापामा एक जनाको मृत्यु भएको छ । बाढीमा परी मोरङमा तीन जना बेपत्ता छन् । पहिरोका कारण ओखलढुंगामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका– ५ का नुर महम्मदका २ वर्षीय छोरा मोहमद मुसाहा घर नजिकै पानी जमेको खाल्डोमा मृत भेटिएका छन् ।

आज बिहान घरबाट हराएका बालक खोजी गर्ने क्रममा जमेको पानीमा मृत भेटिएका हुन् । आज मोरङको रंगेलीमा रहेको घाँगी खोलामा आएको बाढीमा एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार रंगेली ५ का नागेन मण्डल बेपत्ता भएका हुन् । नागेन आज विहान तीन साथीसहित खोला तर्दै थिए । खोला तर्ने क्रममा उनलाई बगाएको मोरङ प्रहरीले बताएको छ ।

मंगलबार मोरङको केराबारी गाउँपालिका– ४ स्थित गोगुने खोलामा आएको बाढीले बगाउँदा स्कुल जाँदै गरेका केराबारी– ४ का ११ वर्षीय श्याम राईको मृत्यु भएको थियो । साथीहरूसँग स्कुल जाने क्रममा गोगुने खोला तर्ने क्रममा बगेका उनको केही तल शव फेला परेको थियो । मंगलबार नै मोरङको सुन्दरहरैचा नगरपालिका– ५ स्थित बूढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । मृतक र बेपत्ता एकै परिवारका हुन् । प्रहरीका अनुसार माछा मार्ने क्रममा सुन्दरहरैचा– ५ की २२ वर्षीया प्रेमकला चौधरी, ६० वर्षीया असरादेवी चौधरी, ३० वर्षीया फूला चौधरी, २२ वर्षीया स्वस्तिका चौधरीलाई बूढीखोलामा आएको बाढीले बगाएको थियो । बाढीमा बगेकी स्वस्तिकाको स्थानीयले उद्दार गरेका थिए ।

प्रेमकलाको शव खोला किनारमा फेला परेको थियो । असरादेवी चौधरी र फुला चौधरी बेपत्ता छन् । मंगलबार बेलुका फुलबासा खोलाले बगाउँदा मेचीनगर नगरपालिका– १४ झापाका बामरा सतारका डेढ वर्षीय छोरा रिहान सतारको मृत्यु भएको छ । घर नजिकै रहेको फुलवासा खोलामा खेल्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ । मंगलबार नै चट्याङ लागेर झापाको कमल गाउँपालिका २ का ४६ वर्षीय राजन खड्काको मृत्यु भएको छ । त्यस्तै गौरादह ८ मा पनि चट्याङ लागेर ४२ वर्षीय विकास गिरीको मृत्यु भएको छ । उनीहरू दुवै खेतमा काम गर्दै थिए । मंगलबार नै सुनसरीको रामधुनी नगरपालिका ४ का ३० वर्षीय उमेशकुमार चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ । उनी पनि खेतमा काम गर्दैथिए ।

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका– ५ थुम्की स्थितमा पहिरोले घर पुरिंदा एक जना महिलाको मृत्यु भएको छ । बुधबार बिहान अविरल वर्षाको कारण स्थानीय बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको १ तले घर र गोठ पहिरोले पुरेको थियो । पहिरोले घरभित्र बसेका ३९ वर्षीय बाबुराम खत्री, उनको ३५ वर्षीया श्रीमती देवकुमारी खत्री र १८ वर्षीया छोरी मेनुका खत्रीलाई पुरेको थियो । प्रहरी र स्थानीयले बाबुराम खत्री र छोरी मेनुकालाई सकुशल उद्धार गरेका छन् । देवकुमारी खत्री मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर