विराटनगर,९ चैत / प्रहरी प्रधान कार्यालयले प्राविधिक समूह तर्फको प्रहरी जवान भर्नाको म्याद एक महिना थप गरेको छ ।
पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरका अनुसार नेपाल प्रहरीमा रिक्त रहेको प्राविधिक समूह तर्फको प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्ने हिसावले दरखास्त आव्हान गरिएको थियो । यस अघि फागुन १ गतेदेखि फागुन ३० गते सम्मको म्याद राखेर दरखास्त आव्हान गरिएको थियो । प्राविधिक समस्याका कारण एक महिना समय थप गर्नु पर्ने अवस्था आएको प्रहरी स्रोतले बतायो ।
पुनः दरखास्त आव्हान गरेर चैत ३० गते सम्मलाई समय थप गरेर दरखास्त फारम वितरण तथा दर्ता कार्यलाई जारी राखिने भएको हो । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरका प्रहरी निरीक्षक देवीप्रसाद बरालले दरखास्त दिन इच्छुकहरुले पूर्व क्षेत्रका सम्बन्धी जिल्ला प्रहरी कार्यालय र तालिम केन्द्रमा दरखास्त दिन सकिने व्यवस्था गरिएको बताए । प्राविधिकतर्फ एक हजार ३३ जना प्रहरी जवानको दरखास्त आब्हान गरिएको थियो ।