पूर्वाञ्चल खबर
महानगरले साउने सोमबारको अवसर पारेर सुनसरीको धरानस्थित पिण्डेश्वर मन्दिरको धार्मिक यात्रा गराएको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले आज विहान धार्मिक यात्रामा जाने कर्मचारीहरुलाई विदाई गरेका छन् ।
मेयर कोइराला कर्मचारीहरुसँगै मन्दिर पुगे । कर्मचारीहरुले जतरास्थित सप्तकोशीको जल लिएर पिण्डेश्वर पुगेका थिए । झरी–बादल नभई महानगरको सरसफाईमा अहोरात्र खट्ने कर्मचारीलाई हौसला प्रदान गर्न धार्मिक यात्रामा लगेको मेयर कोइरालाले बताए ।
महानगरले धार्मिक यात्रा गराएकोमा कर्मचारीहरु खुशी देखिन्थे । महानगरको ३५ वर्षे जागिरे यात्रामा यस्तो अवसर कहिल्यै नपाएको केसलियादेवी डोमले प्रतिक्रिया दिइन् । डोमले सोमबार पिण्डेश्वर मन्दिरमा दर्शन गर्ने र जल चढाउने अवसर महानगरले प्रदान गरेकोमा मेयर र उपमेयरसहित सबै जनप्रतिनिधिलाई धन्यवादसमेत दिइन् ।
धार्मिक यात्रामा ४० जनाभन्दा बढी सफाई कर्मचारी सहभागी भएका थिए ।
धार्मिक यात्रामा जाने सफाई कर्मचारीका लागि वातावरण तथा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, किरण न्यौपानेले सहजीकरण गरे ।
यसअघि महानगरले सरसफाई शाखाका कर्मचारीलाई विराट गोल्डकपसमेत हेराएको थियो । त्यतिबेला मेयर कोइराला र उपमेयर कार्की सफाई कर्मचारीहरुसँगै प्याराफिटमा बसेर फुटबल हेरेका थिए ।