पूर्वाञ्चल खबर
उदयपुरबाट निर्वाचित माओवादी सांसद बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् ।

स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनी मन्त्री बन्ने लगभग पक्का थियो । तर अन्तिम समयमा नाम काटिएको थियो । कोशीमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन् । माओवादीका एक प्रदेशसभा सदस्यका अनुसार सुरुमा जीवन आचार्य र नारायण बुर्जा मगरलाई पठाउने दलको तयारी थियो ।
तर आज उनको ठाउँमा पार्टीले राजेन्द्र कार्कीलाई सरकारमा पठाउने निर्णय गरेको हो । उनीहरु दुबै जनाले मन्त्री पदको शपथ लिइसकेका छन् । प्रचण्डका ज्वाइँ आचार्य भने यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री थिए । २९ पुसमा माओवादीले आचार्य र दुर्गा चापागाईंलाई मन्त्री बनाएको थियो । त्यतिबेला बुर्जा मगरलाई पछि सरकारमा पठाउने भन्दै मनाइएको एक प्रदेशसभा सदस्य बताउँछन् । तर यो पटक पनि मन्त्री बन्ने बाटो बन्द भएपछि उनले फेसबुकमार्फत्त असन्तुष्टि व्यक्त गरेका हुन् ।