खबर पूर्वाञ्चल
मेयर कोइरालाले प्रभातकालीन अनुगमन नाम दिएर हरेक बिहान ६ बजे निस्किने र साढे ९ बजे घर फर्किने गरेका छन् । प्रभातकालीन अनुगमनअन्तर्गत मेयर कोइरालाले आज विहान विराटनगरका विभिन्न वडाको अनुगमन गरे । सरसफाई शाखा, नगर प्रहरी र सचिवालयको टिमसहित निस्केका मेयर कोइरालाले प्वाल टालिएर पिच सडकमा जमेको पानी खोल्न लगाए ।
मेयर कोइरालाले वडा २, ३, ७ र १२ वडाको अनुगमन गरे । पानीको सहज निकासका लागि महानगरले गत माघदेखि नै विराटनगरका नाला सफाई सुरु गरेको थियो । जसका कारण विगतमा भन्दा सडकमा पानी जम्ने समस्या कम भएको स्थानीयको भनाइ छ । अविरल वर्षाको पनि प्रवाह नगरी मेयर कोइराला आफैं अनुगमनमा निस्किएको प्रति स्थानीयले खुसी व्यक्त गरेका छन् । महानगर बनाउने हुटहुटी र विराटनगरवासीलाई दुःख नहोस् भनेर मेयर कोइराला धेरै नै चिन्तित भएको पाइएको विराटनगर–३ का स्थानीय सुशान्त बस्नेतले बताए ।
मेयरको सक्रियता र काम गर्ने शैलीबाट आफूहरु सन्तुष्ट रहेको बस्नेतको भनाइ छ । “चुनावमा भोट दिँदै गर्दा नागेश कोइरालाले विराटनगरवासीको समस्या समाधान गर्न यसरी खट्नुहुन्छ र यति राम्रो काम गर्नुहुन्छ भन्ने लागेकै थिएन,” उनले भने, “पार्किङ र सरसफाईमा त देशभरै स्थानीय तहमध्ये उत्कृष्ट काम गरे ।” मेयर, उपमेयर र वडाध्यक्षहरुको विराटनगर बनाउने सन्दर्भमा अत्यन्र्त राम्रो सहकार्य भइरहेको महसुस भएको उनले बताए ।
मेयर कोइरालाले आन्तरिक सुशासनलाई पनि उच्च प्राथमिकता दिँदै र्आका छन् । मेयरले महानगरका महाशाखा र शाखाहरुको आकस्मिक अनुगमनसमेत गर्दै आएका छन् । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा महानगर लागेको छ । त्यस्तै सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा समेत महानगरले रोक लगाएको छ । साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको दर्ता र नवीकरण नगर्ने निर्णयसमेत गरिसकेको छ ।