पूर्वाञ्चल खबर
मध्यक्रममा ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंहले उत्कृष्ट पारी खेलेपछि नेपालले स्कटल्याण्डमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको हो ।
दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए भने कुशलले ६७ बल खल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाएर आउट भए ।
नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई पराजित गरेको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो ।
कुशल र दिपेन्द्र बाहेक सोमपाल कामीले २४ रनमा अभिजित भए भने कुशल भुर्तेल १६ रन र गुल्शन झा १७ रनमा आउट भए । स्कटल्याण्डका क्रिस साले र मार्क वाटले ३–३ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो ।
स्कटल्याण्डकालागि मिकेल लेस्कले शतक प्रहार गरे । पहिलो एकदिवसीय शतक प्रहार गरेका उनले ८५ बलमा नटआउट १०७ रन जोडे । स्कटल्याण्डका ओपनरद्वय क्रिस्टोफर म्याकब्राइडले २२ रन र रिची बेरिङटनले १९ रन जोड्दा ज्याक जार्किभले २६ रन, टोमस म्याकिङटोस १९ रन, ब्रेन्डन म्याकुलम २२ रनमा आउट भए ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिँदा कुशल मल्लले २ विकेट तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट लिए । सन्दीपले १० ओभरमा २७ रन दिए ।