दोस्रो टेष्टमा भारतको रोमाञ्चक जित, अष्ट्रेलिया १ सय १२ रनमै समेटियो
पूर्वाञ्चल खबर
२४ फाल्गुन २०७३, मंगलवार १६:२७
3
Shares
विराटनगर, २४ फागुन । भारतको बेङ्लोरमा भएको दोस्रोे टेष्टमा भारतले अष्ट्रेलियालाई ७५ रनको रोमाञ्चक जित हासिल गरेको छ । जितसँगै चार टेष्टको शृङखला एक–एक को बराबरीमा पुगेको छ ।
चिन्नास्वामी रंगशालामा चौथो दिनको लञ्च सेसनपछि १ सय ८९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया भारतीय स्पिनरसामु घुँडा टेक्न बाध्य भयो । घरेलु बलर रविचन्द्रन आश्विनले एकलैले ६ विकेट लिएपछि सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलिया एक दिन अगावै भारतलाई खेल सुम्पिन्न बाध्य भयो ।
भारतका उमेश यादवले २ विकेट तथा इशान्त शर्मा र रविन्द्र जडेजा १–१ विकेट लिए ।
अष्ट्रेलीयाली कप्तान स्टिभ स्मिथले २८ रन र पिटर हृयाण्ड्सकोम्बले २४ रन जोड्न बाहेक अन्यको प्रदर्शन फितलो देखियो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टाली भारत पहिलो इनिङमा १ सय ८९ रनमै समेटिएको थियो । जसमा केएल राहुलले ९० र करुण नायरले २६ रन जोडेका थिए ।
पहिलो इनिङमा अभुतपूर्व बलिङ गर्दै अष्ट्रेलियाका नाथान लियोनले ८ विकेट लिएपछि घरेलु टोलीको इनिङ ध्वस्त भएको थियो ।
अष्ट्रेलियाले पहिलो इनिङमा २ सय ७६ रन जोड्दै ८७ रनको अग्रता बनाएको थियो । अष्ट्रेलियाका स्वान मार्सको ६६ र म्याट रेन्सोको ६० रनको को योगदान दिएका थिए । जडेजाले पहिलो इनिङमा ६ विकेट लिएका थिए ।
चौथो दिन २ सय १३ मा ४ विकेटको स्थितिबाट खेल सुरु गरेको भारतले लञ्च सेसन अगावै आफ्ना सबै विकेट गुमाउँदा दोस्रो इनिङमा २ सय ७४ रनमात्र बनाउन सक्यो । उसका लागि चेतेश्वर पुजाराले सर्बाधिक ९२ रन जोडे ।
अजिंक्या राहणेले ५२ र केएल राहुलले ५१ रनको अर्धशतकीय पारी खेले । अष्ट्रेलियाका जस हेजलउडले ६ विकेट लिए भने मिचेल स्टार्क र स्टिभ ओकिफले २–२ विकेट लिए ।
चार टेष्टको शृङखलाका लागि भारत भ्रमणमा रहेको अष्ट्रेलियाले पहिलो टेष्टमा ३ सय ३३ रनको शानदार जित हासिल गरेको थियो । दोस्रो टेष्टमा जित हासिल गरेसँगै शृङखला १–१ को बराबरीमा पुगेको छ ।