पूर्वाञ्चल खबर
सनुवर्षी नगरपालिका–८ बाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित धनकुटाको जोरपाटी घर भई सुनवर्षी–१ म बस्दै आएका २३ वर्षीय विनोद तामाङ पक्राउ परेका छन् । प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले चेकजाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ब्राउन सुगर बरामद गरेको थियो । तामाङलाई हिजो साँझ ६ः३० बजेतिर एक ग्राम सात सय ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
त्यस्तै रतुवामाई नगरपालिका–४ पैयामारीबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित रतुवामाई–१ का ३५ वर्षीय वीरेन्द्र महतो पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा र प्रहरी चौकी झुर्कियाको टोलीले साइकलमा यात्रा गरिरहेका महतोलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।