AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यालयको लापरबाहीका कारण शौचालयको हजभित्र डुबेर एक जना नाबालक बालकको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०७८, शुक्रबार ११:१२
2.03k
Shares
रंगेली / विद्यालयको लापरबाहीका कारण शौचालयको हज (सेफ्टी ट्याङ्की)भित्र डुबेर एक जना नाबालक बालकको मृत्यु भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानस्थित बिपी आधारभूत विद्यालयको लापरबाहीका कारण शौचालयको हज (सेफ्टी ट्याङ्की)भित्र डुबेर ३ वर्षीय बालकको बिहीबार साँझ मृत्यु भएको हो ।

विद्यालय परिषरमा खुलै छाडिएको हजमा डुबेर सुनवर्षी–९ का सन्तोषकुमार दासका ३ वर्षीय छोरा खेम दासको मृत्यु भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले दिए । उनका अनुसार नाबालकका अभिभावक विद्यालयभन्दा बाहिर चिया पसल गर्थे । वरपर अरु पसलहरु पनि छन् । वडाध्यक्ष कमलकिशोर सिंहका अनुसार पसल सञ्चालकहरुले विद्यालय परिषरकै शौचालय प्रयोग गर्दै आएका थिए । तारजाली गरेर र पर्खाल लगाएर विद्यालयको परिषरमा घेराबारा गरिएको थियो । तर भित्रको शौचालय प्रयोग गर्नका लागि पसल सञ्चालकले तारजाली तोडेर विद्यालय परिषरसम्म पुग्नलाई बाटो बनाएको पाइएको वडाध्यक्ष सिंहको भनाइ छ ।

उनका अनुसार रिङ लगाएर बनाइएको शौचालयको हज भने ढकन नलगाइकन खुलै छाडिएको पाइएको छ । शौच गर्न आमा जमुनादेवी दास विद्यालयको शौचालयतिर गएको देखेपछि ३ बर्से नाबालक पनि पछिपछि गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छोराले आफूलाई पछ्याएको थाहा नपाएकी आमा शौचालयमा पसेका बेला नाबालक भने पाँच फिटभन्दा गहिरो हजमा खसेर डुबेको डिएसपी श्रेष्ठले बताए ।

उनका अनुसार शौचालयबाट निस्किएर छोरा खोज्दा आमाले भेट्टाइनन् । नाबालकले लगाएको एउटा चप्पल शौचालयको हजभित्र र अर्काे बाहिर फेला परेको थियो । खोजी गर्दा हजभित्र डुबेर घाइते भएको अवस्थामा नाबालकलाई फेला पारिएको प्रहरीले जनाएको छ ।

डिएसपी श्रेष्ठका अनुसार दिउँसो ४ः४५ बजेतिर हजमा छिरेर गम्भीर घाइते भएका नाबालकको उपचारका क्रममा साँझ ७ बजेतिर रंगेली अस्पतालमा मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि अस्पतालमै राखेर घटनाका बारेमा अनुसन्धान थालिएको श्रेष्ठले बताए ।

विद्यालयमा महिला र पुरुष गरेर दुईवटा शौचालय छन् । गत असारमा मात्रै ढकन बनाएर दुवै शौचालयको हज छोपिएको थियो । तर केही बदमासहरुले साउनमै महिला शौचालयको हजको ढकन भने फुटाएर फ्यालिदिएको विद्यालयका प्रधानाध्यापक सञ्जीव राजवंशीले बताए ।

‘ढकन फुटाइदिएपछि हज खुलै थियो । हज सफा गरेर नयाँ ढकन लगाउने तयारी हुँदैन थियो,’ उनले भने, ‘यहीबीचमा अचानक दुःखद् घटना भइदियो । शौचालय प्रयोग गर्नलाई विद्यालयभित्र पुग्ने बाटो बनाउनका लागि तारजाली भत्काउनु स्थानीयको पनि लापरबाही हो ।’ विद्यालय जस्तो सार्वजनिक स्थानभित्र जुनसुकै बेला छिरेर स्थानीयले गतिविधी गर्ने गरेको प्रअ राजवंशीको भनाइ छ ।

वडाध्यक्ष सिंहले छ महिनासम्म शौचालयको हज व्यवस्थित नगर्नु विद्यालयको लापरबाही भएको बताए । ‘विद्यालयले हज व्यवस्थित नगर्दा त्यहाँभित्र डुबेर नाबालकको मृत्यु भयो,’ उनले भने, ‘अब शौचालयको हज ढाकेर तारजाली गर्दै विद्यालयलाई थप व्यवस्थित बनाइने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर