पूर्वाञ्चल खबर
फागुन १८ गते हुन लागेको स्ववीयू चुनावमा नेविसंघले सभापति पद र क्रान्तिकारीले सचिव र कोषाध्यक्ष पदमा भागबण्डा मिलाएका छन् ।
संयुक्त प्यानलबाट सभापति पदमा सुचिज जैसवाललाई उठाइएको छ । जैसवाल नेवि संघ क्याम्पस इकाइ समितिका सभापति हुन् । यस्तै,सचिव पदमा क्रान्तिकारीका सागर राई तथा कोषाध्यक्षमा क्रान्तिकारीकै सुनिता खत्रीलाई उठाइएको छ । राई क्रान्तिकारीका इकाइ अध्यक्ष तथा खत्री इकाई सचिव हुन् ।
प्रत्यक्ष सदस्यतर्फ नेविसंघका अमिस खत्री,रीता श्रेष्ठ र योगेश छिनाल उम्मेदवार छन् । यस्तै,प्रत्यक्ष सदस्यमा क्रान्तिकारीका नगेन्द्र घिमिरे र विपना राई संयुक्त प्यानलबाट उठेका छन् ।
यस्तै,समानुपातिक सदस्यतर्फ नेविसंघका महेन्द्र ठाकूर,प्रेमा कार्की,सुमन थापा,सुरेश धिमाल,रेखा खड्का,पदमसुन्दर कार्की र रश्मि भट्टराई उम्मदेवार रहेका छन् । क्रान्तिकारीका तर्पmबाट सरोज राई,भिम लिम्बू,सुनिल राई,निशा सुनुवार,पुस्कर भट्टराई,सरोज गौतम र सोनम तामाङ समानुपातिक उम्मेदवार बनाइएका छन् ।
क्याम्पसमा विगतमा दिनहरुमा हुन नसकेको कामलाई गति दिने,बढ्दै गएको राजनीतिक हस्तक्षेपलाई मुक्त गरी गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गर्ने थलोको रुपमा विकास गर्ने गठबन्धको मुख्य उद्देश्य रहेको सभापति पदका उम्मेदवार जैसवालले बताए ।
स्ववीयू हुदै गर्दा विद्यार्थीहरुले प्राप्त गर्ने न्यूनतम हक अधिकारको समेत वकालत गर्ने संस्था स्ववीयू भएकाले विद्यार्थीहरुको हक सुनिश्चिता गर्नका लागि गठबन्धनका सबै उम्मेदवारहरुलाई विजयी बनाउन नेविसंघ क्याम्पस इकाइ समितिका पूर्व सभापति जनकसुमन खड्काले अपिल गरेका छन् ।
उर्लाबारी बहुुमुखि क्याम्पसको ३० वर्षे इतिहासमा एमाले निकट अनेरास्ववीयूले हालसम्म स्ववीयू सभापति पद जित्दै आएको छ । यसैबीच अनेरास्ववीयू उर्लाबारी बहुमुखी क्याम्पस इकाइ कमिटीका अध्यक्ष तथा स्ववीयू सभापति पदका उम्मदेवार गणेश घिमिरेले क्रान्तिकारी वैचारिक रुपमा विचलन भएर नेविसंघसँग गठबन्धन गरेपनि विद्यार्थीहरु भावनात्मक रुपमा गठबन्धनमा सामेल नभएको प्रतिक्रिया दिएका छन् ।
नेविसंघ र क्रान्तिकारीबीचको अपवित्र गठबन्धनले अनेरास्ववीयूको उम्मेदवारलाई थप फाइदा पुगेको घिमिरेले दावी गरे ।