पूर्वाञ्चल खबर




भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिहरुलाई लगाउने तयारी प्रदेश सरकारले गरेको छ ।
विराटनगरको यी ठाउँमा खोपकेन्द्र
आजदेखि विराटनगरको दुई वटा खोप केन्द्रबाट खोप लगाउन थालेको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले जानकारी दिएका छन् । कार्कीका अनुसार विराटनगरको वीरेन्द्र सभागृह र कोशी अस्पतालमा भेरोसेल खोप लगाउने कार्य सुरु भएको छ ।
खोप केन्द्रमा सर्वसाधारणको घुँइचो लागेको छ । झरीमा छाता ओडेर खोप लगाउन लाइनमा बसेका छन् । महानगरपालिकाले तीन वटा केन्द्र निर्धारण गरेको भएपनि जिल्ला प्रशासन कार्यालय मोरङले परिवार नियोजन संघमा राखिएको खोप केन्द्र तत्काल सञ्चालन नगर्न भन्दै रोकिदिएको छ । परिवार नियोजन संघमा बालबालिकाहरुका लागि नियमित खोप लगाउने केन्द्र सञ्चालनमा रहेका कारण त्यसमा असर पुग्ने भएकोले जिल्ला प्रशासन कार्यालयले रोकिदिएको हो । ‘तत्काल दुई वटा केन्द्रबाटै खोप लगाउने कार्य हुने र केही दिनपछि वडाहरुमै गएर खोप लगाइने छ,’ कार्कीले भने ।
आजदेखि ५५ वर्ष माथिका नागरिक, अग्रपङ्तिमा कार्यरत शिक्षक, कर्मचारी, प्रहरी, यस अघि खोप लगाउन छुटेका व्यक्तिहरु, सञ्चारकर्मी, सार्वजनिक सवारीका चालकहरु, सहचालकहरु पनि खोपको सूचिमा छन् । भेरोसेल खोपको पहिलो डोज लगाएर दोश्रो खोप लगाउने समय पुगेका व्यक्तिहरुले पनि सोमबारदेखिको अभियानमा खोप लगाउन सक्ने छन् ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालयको सिफारिसमा बेला जिल्ला स्वास्थ्य कार्यालयबाट नियमित खोप लगाउने गरी प्रबन्ध भएको जानकारी कार्कीले दिए ।
महानगरले प्रहरी तालिम केन्द्रका लागि आवश्यक पर्ने खोप तालिम केन्द्रमा एकमुष्ट पठाएको छ ।विराटनगर महानगरपालिकामा सर्वसाधारणका लागि यस पटक ७ हजार ५०० मात्रा खोप प्राप्त भएको छ । दुई वटा केन्द्रबाट ति खोप लगाइने कार्कीले जानकारी दिए । उनले भने ‘अब खोपको लागी धेरै आत्तिनु पर्ने अवस्था छैन, यो खोप लगाउना साथ हामी फेरी जोन्सनको खोप लगाउन थाल्छौं, त्यसपछि फेरी भेरोसेल नै प्राप्त हुन्छ र त्यो पनि लगाउँछौं , त्यसैले सोमबार नै ठूलो भीड लाग्नु पर्ने अवस्था आउँदैन भन्ने लागेको छ ।’