पूर्वाञ्चल खबर
प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटा, यूवा समाज नेपालको सहयोगमा बिभिन्न संचारमाध्यमले उत्पादन गरेको स्वास्थ्य सचेतना कार्यक्रममा जनस्वास्थ्य विद् डा. विनिताकुमारी पौडेलले नेपाल सरकारले तयार गरेको जनस्वास्थ्य रणनीति राम्रो भएको बताइन । उनले सार्वजनिक स्थानमा धुम्रपान प्रयोग गर्नेको संख्या पहलेको तुलनामा घटेको बताइन । जनस्वास्थ्य विद पौडेलले भनिन,‘ सार्वजनिक यातायातमा सुर्तीजन्य पदार्थको प्रयोग करिव शुन्यको अवस्थामा छ ।’
कारवाही हुने डरले सार्वजनिक स्थानमा यसको प्रयोग घट्दै गएको उनको भनाई छ । उनले सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहन गर्न सरकारले ल्याएका रणनीति राम्रो भएपनि कार्यन्वयन पक्ष कमजोर भएको बताइ । कार्यपक्ष प्रभावकारी भए धेरै न्युनीकरण भएर जाने उनले दाबी गरिन।
सुर्तीजन्य पदार्थ धेरै रोगहरुको कारक भएकाले यसको प्रयोगमा निरुत्साहित गर्न आवस्यक रहेकोमा उनको जोड छ । बालबालिकालाई यसको प्रयोगबाट हुने वेफाईदाका बारेमा बुझाउन आवस्यक रहेको उनले बताइन । सञ्चार माध्यममा विज्ञापन नदिने, फिल्महरुमा यसलाई प्रोत्साहन नगर्ने र समय समयमा अनुसंधान गर्न आवस्यक रहेको डा. पौडेलले बताइन ।
सुर्तीजन्य पदार्थको प्रयोगमा न्युनीकरण गर्ने उद्देश्यले स्वास्थ्य निर्देशनालयले विभिन्न सचेतनामुलक कामहरु गर्दै आएको निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । उनले समुदाय स्तरमा गएर पनि सुर्तीजन्य पदार्थ प्रयोगको अवस्थाबारे सर्वेक्षण गर्ने काम पनि गर्ने गरिएको बताए । निर्देशक बस्नेतले भने,‘ सुर्तीजन्य पदार्थको प्रयोग न्युनीकरणका लागि विभिन्न प्रचार प्रसारको पनि काम हुँदै आएको छ ।’
सुर्तीजन्य पदार्थको प्रयोगमा न्युनीकरण गर्ने उद्देश्यले रेडियोबाट स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको यूवा समाज नेपालका अध्यक्ष कैलाशखाकी श्रेष्ठले बताए । उनले कार्यक्रममा विज्ञहरुसँग छलफल, स्थानीयवासीसँग कुराकानी गरेर अडियो सामाग्री प्रसारण गर्ने, अनलाईन सञ्चार माध्यमबाट सुर्तीजन्य प्रयोग नगर्नका लागि स्वास्थ्य सन्देश दिने काम प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा यूवा समाज नेपालले गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।