उर्लाबारी, माघ २९ / प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले इलाका प्रहरी कार्यालय उर्लाबारी प्रहरीको कमाण्ड सम्हालेको एक महिनामा विभिन्न १० वटा मुद्दाका ३३ जना प्रतिवादीलाई पक्राउ गरेका छन् ।
आज शनिबार इप्रका उर्लाबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरी निरीक्षक थापाले एक महिनायता आपूmले गरेका कार्यहरु सार्वजनिक गरेका हुन् ।
निरीक्षक थापा उर्लाबारीमा आएयता सार्वजनिक अपराध अन्तर्गत दायर ५ वटा मुद्दा २५ जनालाई पक्राउ,चोरी सम्बन्धि दायर एउटा मुद्दामा दुई जना,लागूऔषध सम्बन्धि दायर दुईवटा मुद्दामा ५ जनालाई नियन्त्रणमा लिएको जनाएका छन् । यस्तै,सार्वजनिक अपराध सम्बन्धि दायर एउटा मुद्दाका प्रतिवादी ९ जना र जबजरजस्ती करणी उद्योगका एक जना गरी १० जना प्रतिवादीहरु फरार रहेको थापाले जानकारी दिए ।
यसैबीच इलाका प्रहरी कार्यालय उर्लाबारीले नगर क्षेत्रबाट विभिन्न समयमा हराएका थप नौ वटा मोटरसाइकल सहित एक जनालाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल चोरीमा संलग्न दमक–१०का २३ वर्षिय ‘मछरिया’ भन्ने श्रवण सहनीलाई हटौँडा–५ सानोपोखरीबाट नियन्त्रणमा लिइ जिल्ला अदालत मोरङमा पेश गरिएको जनाएको छ ।
गत असार २५ गते उर्लाबारी–६मा दमक–१६का मनिष कार्कीलाई कुटपिट गरी फरार रहेका उर्लाबारी–२ का राजीव भन्ने टेकराज लिम्बूलाई नियन्त्रणमा लिई अदालतमा बुझाएको,विभिन्न समयमा उर्लाबारीबाट मोबाइल चोरी गर्ने झापा बुधबारे–४का आकाश भन्ने सन्देश तिम्सिनालाई नियन्त्रणमा लिइ अदालतमा पेश गरेको,२०६९ सालमा उर्लाबारी–८ सुनझोडाकी १३ वर्षिया एक बालिकालाई जबरजस्ती करणी गरी फरार रहेको स्थानीय राजेन्द्र भनिने बेदबहादुर खड्कालाई पक्राउ गरी अदालतमा बुझाएको लगायतका कार्यहरु एक महिनामा गरिएको प्रहरी निरीक्षक थापाले बताए ।
यसैबीच इलाका प्रहरी कार्यालय उर्लाबारीले गत कात्र्तिक ४ गते उर्लाबारीबाट चोरी भएको मे ८ प २४०९ नम्बरको पल्सर मोटरसाइकल फेला पारी सो मोटरसाइकलका धनी उर्लाबारी–४का अमर विकलाई पत्रकार सम्मेलनमा हस्तान्तरण गरेको छ ।