पूर्वाञ्चल खबर
सिमित ब्यक्तिहरु सहभागी भएर सामान्य कार्यक्रम गरी आइसोलेसन आजबाट सञ्चालनमा आएको घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्धवारिकलाल चौधरीको शुभकामना मन्तब्यसंगै आइशोलेशन आजबाट सञ्चालनमा आएको घोषणा गरिएको हो ।
इटहरी–१० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजनसहितको आइसोलेसन एक साताअघि नै तयार गरिएपनि आजबाट सञ्चालनमा आएको हो । नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इटहरीले आइसोलेसन सञ्चालनमा साथ दिएका छन् ।
नीजी क्षेत्रको पहलमा सञ्चाल नभएको सुविधा सम्पन्न आइसोलेसनले इटहरी नगरबासीलाई ठुलो राहत मिल्ने नगर प्रमुख चौधरीले बताए । उनले नीजी क्षेत्रको यो पहल उदाहरणीय भएको भन्दै प्रशंशा समेत गरे ।
तीन तल्ले भवनमा सञ्चालित सुविधा सम्पन्न आइसोलेसनमा प्राविधिक रुपमा डाक्टर र नर्ससहितको सुविधा रहेको छ । पछिल्लो समय सुनसरीसहित आसपासका क्षेत्रमा कोरोना भाइरस संक्रमण तिब्र भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिनकालागि निजी क्षेत्रको अगुवाइमा आइसोलेसन तयार गरिएको मारवाडी सेवा समिति इहरीका अध्यक्ष मुकेश अग्रवालले बताए ।
स्थानीय तहले निर्माण गरेका कतिपय आइसोलेसनमा विरामी बस्न नमानेको गुनासो बढिरहेको बेला सञ्चालन भएको सुविधा सम्पन्न यो आइसोलेसनमा संक्रमितलाई खाना र बस्न निःशुल्करहेको छ । यसका साथै विभिन्न खेलकुदका सामाग्री, विभिन्न पुस्तक, उच्चगतिको इन्टरनेट र टेलिभजनको सुविधा समेत रहेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । आइसोलेसनमा निशुल्क एम्बुलेन्स सेवाका साथै नोबेल अस्पतालसंगको सहकार्यमा ७ सय ५० रुपैयामा पिसिआर जांच गर्ने सुविधा पनि रहेको अधिकारीले बताए ।
इटहरी उपमहानगरपालिकाले पनि इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन तयार गरेको छ । गत वर्ष एक सय शैया क्षमता सञ्चालित यो आइसोलेसन यस वर्ष ५० शैयामा सीमित गरिएको छ ।