पूर्वाञ्चल खबर
प्रहरीले विराटनगर महानगरपालिका–३ स्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पताल नजिक सञ्चालनमा रहेको पश्चिमवासी फार्मेसीका सञ्चालक २२ वर्षीय रवीन्द्र महतोमाथि अनुसन्धान थालेको हो । प्रहरीले महतोले विरामीसँग औषधीमा बढी मुल्य लिएर विक्री बितरण गरेको आरोपमा हिजो पक्राउ गरेको थियो । रवीन्द्रविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कारबाही अघि बढाउन आज म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ४५ वर्षीय रामनारायण मुखियाले बुहारी सपना मुखियालाई प्रसूतिका लागि वैशाख २५ गते अस्पताल भर्ना गरेर ३० गतेसम्म राख्नु भएको थियो । बुहारीलाई आवश्यक पर्ने औषधि खरिद गर्दा रामनारायणसँग फार्मेसी सञ्चालकले १७ हजार आठ सय ८९ रुपैयाँ बढी लिएको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । उनका अनुसार औषधिको मूल्य ३५ हजार चार सय ५६ रुपैयाँ लिनुपर्नेमा रामनारायणसँग ५३ हजार तीन सय ४५ रुपैयाँ लिएको खुलेको छ । ‘फार्मेसी सञ्चालकले औषधि खरिद गर्ने ग्राहाकका नाममा दुईवटा खाता बनाउने गरेको पाइयो,’ एसपी खड्काले भने, ‘एउटामा वास्तविक मूल्य लेख्ने र अर्कोमा बढी मूल्य उल्लेख गरेर ग्राहाकसँग पैसा लिने गरेको पत्ता लागेको छ ।’ फार्मेसी सञ्चालक रवीन्द्रका दुवै खाता प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीबाट ठगीमा परेका सर्वासाधारणको विवरण निकाल्न दुवै खाताको अध्ययन थालेको छ । ४० रुपैयाँपर्ने औषधिलाई एक सय ४० रुपैयाँसम्ममा बिक्री गरेको फेला परेको एसपी खड्काले बताए ।