खबर पूर्वाञ्चल
विराटनगर – २ तीनपैनीचौकका उपभोक्ता रतनकुमार बर्माले बिहीबार खरिद गरेको कोशी ग्यासको सिलेन्डरमा तीन केजी ३ सय ग्राम कम तौल भेटिएको हो ।
भरेको सिलिण्डरको तौल २९ किलो ६ सय ग्राम हुनुपर्नेमा २६ किलो ३ सय ग्राम मात्र भएको भेटिएको छ । प्रत्येक सिलिण्डरमा ग्याँस उद्योगहरुले १४ किलो २ सय ग्राम ग्याँस भरेर पठाउने गरेकोमा बर्माले दुई वटा सिलेन्डर ग्यास खरिद गरेकोमा एउटा सिलिण्डरको ३ किलो ३ सय ग्राम कम तौल भेटिएको हो ।
ग्याँस डूलाई हिड्ने टेम्पु चालकसंग आफुले २ वटा सिलिण्डर खरीद गर्दा एउटामा कम तौल भेटिएको वर्माले जानकारी दिए । शंका लागेपछि खरीद गरिएको सिलिण्डर डिजीटल काँटामा तौल गर्दा कम तौल फेला परेको उनले बताए । ‘दुई वटा शील प्याक गरिएको कोशी ग्यासको सिलेण्डर खरिद गरेको थिए,’ उनले भने, ‘एउटा ग्यासको सिलेन्डरमा तीन केजी ३ सय ग्राम कम तौल छ । अर्कोमा २९ किलो ६ सय ग्राम ग्यास भएको सिलेन्डर रहेको छ ।’
खरिद गरिएको सिलिण्डर तौल कम फेला परेपछि बिक्री गर्ने टेम्पु चालक दक्षिणतर्फ भागेको र पछि आफुले पछ्याएर फेला पारेको उनले बताए । वर्मालाई डिलरहरूबाट ग्यास खरिद गरेर डुलाउँदै हिडने टेम्पु चालक राजकपुर मण्डलबाट ग्यास खरिद गरेका थिए । मण्डलले विराटनगरका २ तीन ठाँउबाट सिलिण्डर खरीद गरेर बिक्री गर्दै आएको आएको बताएका छन् । डुलाउँदै ग्यास बिक्री गर्ने मण्डलले खरिद गरेको डिलरको नाम भने खुलाएको छैनन् । डिलर संचालक, कोशी ग्यास कम्पनीको मिलेमतोमा कम तौल भरेर उपभोक्ता ठगी गरेको हुनसक्ने आशंका गरिएको छ । उपभोक्ताले सिलप्याक ग्याँस खरीद गर्दा तौल गर्न सम्भव नहुने भएकाले अन्य कतिपय ब्यक्ति समेत ठगिएको हुनसक्ने आशंका गरिएको छ ।
यता कोशी ग्याँस उद्योगका म्यानेजर सचित उपाध्यायले सिलिण्डर चेकजाँच गरेपछि मात्र केहि भन्न सक्ने प्रतिक्रिया दिए । उद्योगबाट त्यसप्रकारको गल्ती हुन नसक्ने उनको दाबी छ । ‘उद्योगले बजारमा पठाउने ग्यासहरू तौलिएर पठाउने गरिएको छ,’ उनले भने, ‘त्यस्तो कमी हुन सक्दैन । यस विषयमा ग्यास कम्पनीमा ल्याउपछि बुझेर मात्र भन्न सकिन्छ ।’