पूर्वाञ्चल खबर
प्रदेश १ मा मृत्यु हुनेको संख्या ६५ पुगेको छ । जसमध्ये १३ जना प्रदेश १ बाहिरको रहेका छन् भने प्रदेश १ का ५२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानका एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरान २ की ३८ वर्षीया महिलाको मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार उनको ती महिलाको बिहान ५ बजेर ४५ मिनेटमा निधन भएको हो । मृतकलाई आइतबार राति ११ बजेर ५० मिनेटमा प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
मृतकलाई कोरोना संक्रमण भएको रिपोर्ट विहान आएको हो । मृतकलाई ज्वरो, खोकी, श्वास प्रश्वासमा कठिन र नियोनियाको लक्षण देखिएर अस्पताल लगिएको थियो । उनलाई दीर्घरोग नभएको जानकारी परिवारले दिएको भएपनि ब्लड सुगर देखिएको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै विराटनगरमा आजै दिउँसो थप एक जना झापाको गौरादह–१ घर भएका ५१ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।
दिउँसो १ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा उनको मृत्यु भएको हो ।
अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उपचार थालिएको थियो ।
श्वासप्रश्वासमा समस्या भएकोभन्दै ती पुरुषलाई असोज ३ गते उपचारका लागि नोबेल ल्याइएको हो ।
स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा मंगलबार रिपोर्ट पोजेटिभ आएर कोरोना पुष्टि भएपछि तत्काल अस्पतालकै आइसोलेसनमा भर्ना गरिएको दाहालले बताए ।
आइसोलेसनमै उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु भएको जानकारी उनले दिए । चिकित्सकलाई उद्रित गर्दै दाहालले दिएको जानकारी अनुसार मृतकमा मधुमेह, उच्च रक्तचाप र कलेजो सम्बन्धी पुरानै समस्या थियो ।