विराटनगर, माघ १४ /मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यक रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले निर्धारित समयभित्रै स्थानीय तह वा निकायको निर्वाचन त्यसपछि प्रदेश र संसदीय निर्वाचन गराउनुपर्ने विषयमा जोड दिए ।
पूर्णसंरचना आयोगको प्रतिवेदनको अझैं सम्म टुंगो नलागेको र समय पनि कम रहेकाले गाउपालिका र नगरपालिकाको निर्वाचन पुरानै संरचनामा गर्दा सवै दलबीच सहमति जुट्न सक्ने उनले बताए । केही दिनभित्रै निर्वाचनको तिथि तोेकिन सक्ने सम्भावना रहेको उल्लेख गर्दै उनले परिमार्जनसहित संविधान संशोधन र निर्वाचनको बिषयमा मुख्य दलहरुबीच प्याकेजमैं सहमति हुनुपर्ने जोड दिए ।
निर्वाचनलगायतका विषयमा प्रधानमन्त्रीले प्रयास गरिरहेको भएपनि ठोस सहमति हुन नसकेको भन्दै अध्यक्ष गच्छदारले यसका लागि मुख्य दलहरु नै कारक रहेको स्पष्ट पारे ।