पूर्वाञ्चल खबर
लगातार तीन पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी वीरगञ्ज–१० अशोक बाटिकाकी २३ वर्षीया युवतीको मृत्यु भएको हो ।
युवतीको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा पठाइएको छ । स्वाब परीक्षणको रिपोर्ट आएपछि उनमा अहिले कोरोना थियो वा थिएन यकिन हुनेछ । यद्यपी आरडिटी पोजेटिभ देखिएकोले उनमा यसअघि कोरोनाको संक्रमण भएको भने देखिएको चिकित्सकले बताएका छन् ।
ब्लड क्यान्सरले ग्रसित युवतीको आज विहान मृत्यु भएको हो । एक महिनापहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले नेशनल मेडिकल कलेजमा लगेका थिए। तर, मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिलमा लगियो।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट लकडाउन र्गयो ।
लकडाउन सुरु भएको दुई दिनदेखि घरमै रहेको बेला स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि एडभान्स अस्पताल लगिएको थियो । प्रारम्भिक उपचारपछि एडभान्सले आईसीयुमा राख्नुपर्ने भन्दै नेशनल मेडिकल रिफर गरेको थियो । तर नेशनल मेडिकल कलेजले आईसीयु खाली नरहेको भन्दै विरामीको भर्ना नै नलिई फिर्ता पठाएको परिवारका सदस्यहरु बताउँछन् ।
एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा र्पुयाएका थिए। शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।
उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘उहाँ ब्लड क्यान्सरको बिरामी हुनुहुँदो रहेछ, आरडीटी पोजेटिभ देखिएको थियो,’ उनले भने, ‘पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर हेटौंडा पठाएका छौं ।’
रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति युवतीलाई नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले आरडिटी टेष्ट गर्दा तेस्रो पटकसम्म पोजिटिभ नै आएपछि नारायणी अस्पताल रेफर गरिएको थियो । अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर उपाध्यायले जानकारी दिए ।