पूर्वाञ्चल खबर
एउटै दलबाट उम्मेदवार भएपनि फरकफरक मत प्राप्त गरी उनीहरू विजयी भएका हुन् ।
मतपरिणामको विश्लेषणका आधारमा प्रदेश सांसदले ‘फ्लोर क्रस’ गरेका छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुखले एकनासको मत दिएका छन् । खुल्लातर्फ विजयी भएका नेकपाका देवेन्द्र दाहालले ६५ जना प्रदेश सांसदको मत पाएका छन् ।
खुल्लातर्फ एक जना प्रदेश सांसदको मत बदर भएको छ । प्रदेश नम्बर १ मा नेकपाका ६७ जना सांसद छन् । उक्त पार्टीकी एक जना महिला सांसद भने मतदानमा अनुपस्थित थिइन् । अदालतबाट पक्राउ पूर्जी जारी भएपछि नेकपाकी सांसद गुलेफुन मियाँ पक्राउ पर्ने डरले मतदानमा सहभागी भइनन् ।
महिलातर्फ विजयी इन्दिरा गौतम अन्य पार्टीका तीन जना सांसदसमेतको मत ल्याउन सफल भएकी छिन् । उनले ६९ जना प्रदेश सांसदको मत प्राप्त गरेकी छिन् । दलिततर्फ नेकपाका उम्मेदवार गोपीबहादुर सार्की अछामीले ६७ जना प्रदेश सांसदको मत प्राप्त गरेका छन् । उनी पनि अर्को एक पार्टीका सांसदको मत जोड्न सफल भएका छन् ।
मत परिणामको अवस्था हेर्दा महिला उम्मेदवारतर्फ नेपाली कांग्रेसका दुई वा तीन जना प्रदेश सांसदले ङ्खलोर क्रस गरेको तथ्य देखिन्छ । महिला र दलिततर्फ कुनै पनि मत बदर भएको छैन । मत विश्लेषणका आधारमा राप्रपाका एकमात्र सांसदले खुल्लातर्फ नेपाली कांग्रेसका उम्मेदवार, दलिततर्फ नेकपाका उम्मेदवारलाई मत दिएको आशंका गर्ने अवस्था बनेको छ ।
महिलातर्फ विजयी उम्मेदवारले तीन मत बढी पाएका कारण नेपाली कांग्रेसका घटीमा दुई जना सांसदले ङ्खलोर क्रस गरेको स्पष्ट संकेत देखिएको छ । एक जना मात्र सांसद भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग भने समाजवादी पार्टीले चुनावी गठबन्धन गरेको छ । उक्त पार्टीका तीनै जना उम्मेदवारले आप्mनो तीन सांसदसहित चार जना सांसदको मत प्राप्त गरेका छन् ।
संघीय समाजवादीका उम्मेदवारले स्थानीय तहका चार जना प्रमुख उपप्रमुखको मत पनि समान ढंगले प्राप्त गरेका छन् । उनीहरूको मतमा कुनै गडबडी भएको देखिदैन । प्रदेश सांसदले दिने मतमा यस्तो गडबडी भएपनि स्थानीय तहका प्रमुख उपप्रमुख भने मतदानका क्रममा आ–आफ्ना पार्टीतर्फ प्रतिबद्ध भएको देखिन्छ ।
एक सय ७३ जना स्थानीय प्रमुख उपप्रमुखले नेकपाका तीनै जना उम्मेदवारलाई समान ढंगले मत दिएका छन् । प्रमुख र उपप्रमुखले दिएको कुनै पनि मत बदर भएको छैन । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवारलाई पनि ९५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले एकनासले मत दिएका छन् ।
प्रदेश नम्बर १ मा नेकपाले आफ्नातर्फ एक सय ६३ जना मात्रै स्थानीय तहका प्रमुख उपप्रमुख भएको बताए पनि १० जना थप गर्न सफल भएको छ । उक्त दलका दुई जना थप प्रमुख र उपप्रमुख मतदानमा अनुपस्थित थिए ।
प्रदेश १ मा ९३ जना प्रदेश सांसद भएको ९२ जनाले मतदान गरेका थिए । त्यस्तै, दुई सय ७४ प्रमुख उपप्रमुखमध्ये दुई जना अनुपस्थित रहे । सोलुखुम्बुको खुम्बु–पासाङल्हमु गाउँपालिकाका प्रमुख ङिमजोर्जी शेर्पा र संखुवासभाको सिलिचोङ गाउँपालिका उपप्रमुख लालकुमारी राई मतदानमा उपस्थित थिएनन् । दुबै नेकपाबाट विजयी भएका प्रमुख उपप्रमुख हुन् ।
भर्खरै आमाको निधन भएर क्रियामा बसेका सुनसरी दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार भने दिउँसो मतदानस्थल आइपुगेका थिए । मतदान विराटनगरको वीरेन्द्र सभागृहमा भएको हो । दिउँसो २ बजेसम्म ९० प्रतिशतभन्दा बढी मत खसेको थियो ।
मतदानका लागि तोकिएको ४ बजेपछि भने मतपेटिका गणनाका लागि तीनटोलियास्थित सोमबारेमा रहेको जिल्ला निर्वाचन कार्यालय लगिएको थियो । गणना सुरु गरेको एक घण्टामै मतपरिणाम घोषणा गरिएको थियो । मतदान, मतगणनालगायत निर्वाचनका सबै कार्यक्रम शान्तिपूर्वक सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय मोरङका निमित्त प्रमुख तीर्थराज अधिकारीले जनाएका छन् ।