पूर्वाञ्चल खबर
विराटनगर / सुनसरीको गढी गाउँपालिकामा बालविवाह विरुद्ध रणनीतिक योजना बारे छलफल गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोग र गढी गाउँपालिकाको समन्वयमा साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले आयोजना गरिएको कार्यक्रममा बाल संरक्षण नीति र बाल विवाह विरुद्धको रणनीतिक योजनाबारे छलफल गरिएको हो । छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले आगामी २०७८ साल भित्रमा गाढी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने गरि काम भईरहेको बताए । शिक्षाका कमीले बालविवाहका घटना हुने गरेको उनले बताए । बालविवाह अन्त्यका लागि गाउँपालिकाले विद्यालय–विद्यालयमा गएर सचेतनामुलक कार्यक्रम गर्ने योजना बनाएको अध्यक्ष यादवले बताए ।
गाउँपालिका उपाध्यक्ष राजकुमाी चौधरीले बालविवाह मुक्त गाउँपालिका बनाउनका लागि विभिन्न नीतिहरुलाई अन्तिम रुप दिईसकिएको बताइन् । वडा नंं ४ बाल विवाहमुक्त घोषणा भईसकेको उनले बताइन् । प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले बाल विवाह अन्त्यका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरिरहेको बताए । गाउँपालिकाले लिएको लक्ष्य भित्रै बालविवाहमुक्त घोषणा गरिने उनले बताए ।
वडा नंं २ का वडाध्यक्ष अरुण चौधरीले बालबालिका संवन्धि बनाईएका नीति कार्यन्वयमा जोड दिए । नीति कार्यन्वयन हुन सकेमात्र कार्यक्रमले सफलता पाउने उनले बताए । कोकन उपाध्यक्ष मञ्जिता उपाध्यायले बाल विवाह चुनौतिको रुपमा रहेको बताइन् । उनले बालबालिकाले आँफुखुशी गर्ने विवाह बढेको बताइन् । अभियान तीव्र रुपमा चलिरहेकाले प्रदेश १ मा गढी गाउँपालिकालाई पहिलो हुन सक्ने उनको भनाई छ ।
कार्यक्रममा बाल संरक्षण नीति र बाल विवाह विरुद्धको रणनीतिक योजनाबारे समूहगत छलफल गरि सुझाव लिईएको थियो । छलफल कार्यक्रमको सहजीकरण प्रदेश १ को सामाजिक विकास मन्त्रालयका कानुन विज्ञ कोषराज न्यौपानेले गरे ।