पूर्वाञ्चल खबर
भूकम्प प्रतिरोधी लागि १ नम्बर ईट्टा प्रयोग गरिनुपर्ने हो । निर्माणधिन भवनको ‘टाइबिम’ सम्पन्न गरि गाह्रो उठाउने क्रममा २ नम्बर इट्टा प्रयोग गरिएको पाइएको हो । नयाँ बन्दै गरेको भवनको गाह्रो उठाउने क्रममा २ नम्बर इट्टा प्रयोग भएको स्थानियबासीले देखेर विरोध जनाएका थिए । स्थानियले विरोध गरेपछि प्राविधक टोली भवन निर्माण स्थलमा आएका थिए । गाह्रो उठाउने क्रममा २ नम्बर इट्टा प्रयोग भएको पाइएपछि करिब १ हजार ५ सय इट्टा निर्माण स्थलबाट हटाएको हो ।
भवन निर्माणका निम्ति १ नम्बरको ईट्टा प्रयोग गर्नुपर्ने भएपनि २ नम्बरको इट्टा प्रयोग गरिएको विराटनगर ११ का दिलीप सहनीले बताए । ‘निर्माणधिन वडा कार्यालयको भवन निर्माणमा १ नम्बर इट्टा प्रयोग गर्ने सम्झौता भएको थियो,’ उनले भने, ‘यहाँ २ नम्बर इट्टा प्रयोग भएको पाइयो ।
निर्माण स्थलमा भेटिएको १५ सय इट्टा २ नम्बर भएको प्राविधक टोलीले पनि पुष्टि गरिदिएको छ ।’ वडाको भवन बनाउन ल्याएको इट्टा कमसल रहेको उनले दाबी गरे । ‘निर्माण स्थलमा राखिएको इट्टाहरू टुटफुट रहेको धेरै छन्,’ उनले भने, ‘सङ्ल्लो इट्टा पनि तीन फुट माथिबाट तल फाल्दा पनि टुक्रा– टुक्रा हुने गरेको थियो ।’
उपभोक्ता समिति बनाए ८४ लाख ९७ हजार २ सय ४४ रुपैयाँ लागतमा वडा कार्यालयको भवन निमार्ण सुरु भएको हो । २०७६ साल कात्तिक १ गतेबाट निर्माण कार्य सुरु भएको छ । यादनरसिंह कार्की अध्यक्ष रहेको उक्त उपभोक्ता समितिमा सात सदस्य छन् । निर्माण सुरु भएको करिब दुई महिनामा टाईबिम सकेर यतिखेर गाह्रो उठाउने काम भइरहेको छ । गाह्रो उठाउने क्रममा केही ठाउँमा २ नम्बर इट्टा प्रयोग भएको स्थानियको विरोधपछि हटाएको छ ।
वडा कार्यालयको भवन निर्माण तीब्र रुपमा भए पनि निर्माणको स्टिमेटमा उल्लेख शर्त अनुसार निर्माण कार्य नभएको स्थानीयको आरोप छ । स्थानीय सहनीका अनुसार भवन निर्माणमा आंशिक मात्र १ नम्बरको इटा प्रयोग भएको दाबी गरे । निर्माणधिन भवनमा कमसल सामाग्रि प्रयोग भएकोले मापदण्ड विपरीतका सामाग्रि हटाएर गुणस्तीय सामान प्रयोग गर्न स्थानियले माग गरेका छन् । महानगरपालिकाले उपलब्ध गराएको बजेट सदुपयोग गर्नुपर्ने बताउँदै उनले गुणस्तरहीन निर्माण समाग्री प्रयोग गरिनुपर्ने बताए ।
८४ लाख ९७ हजार २ सय ४४ रुपैया कुल लागतमा निर्माण भइरहेको भवनका लागि विराटनगर महानगरपालिकाले ९० प्रतिसत अर्थात ७६ लाख ४७ हजार ५ सय १९ रुपैया बजेट बिनायोजन गरिएको छ । उपभोक्ता समितिले १० प्रतिसत अर्थात ८ लाख ४९ हजार ७ सय २४ रुपैया खर्च गर्ने सम्झौतामा उल्लेख छ । वडा कार्यालयको भवन २०७७ जेठ मसान्त सम्म निर्माण कार्य सकिने सम्झौता गरिएको छ ।
विराटनगर ११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेले विराटनगर महानगरपालिकाको इन्जीनियर तथा प्राबिधिकहरुकै निगरानीमा निर्माण कार्य भइरहेको बताए । अहिलेसम्म गुणस्तरहिन काम नभएको उनको भनाई छ । ‘धेरै निर्माण सामाग्री ल्याउने क्रममा थोरै संख्यामा २ नम्बर इट्टा परेको हुन सक्छ,’ उनले भने, ‘निर्माणको क्रममा गुणस्तरहिन इटा पाइए हामी तत्काल हटाउँछौं ।’
यता गुणस्तरहीन सामाग्रि प्रयोग गरिएको विषयमा टेलिफोनमा प्रतिक्रिया दिदै उपभोक्ता समितिका अध्यक्ष यादनरसिंह कार्कीले अरू ठाउँमा लगिएको इटा वडा कार्यालयको भवन निर्माण स्थलमा झुकिएर ल्याएको बताए । ‘अन्यत्रका लागि ल्याइएको इट्टा यहाँ आएको पाइयो,’ उनले भने, ‘२ नम्बर इटा हामीले बिहीबार नै हटाएको छौं ।’ विराटनगर महानगरपालिका इन्जिनियर सुजन श्रेष्ठले वडा कार्यालयको भवन निर्माण स्थलमा थोरै संख्यामा २ नम्बर इट्टा भेटिएकोले फिर्ता गरिएको बताए ।