पूर्वाञ्चल खबर
आउँदो मंसिर २० गते विराटनगर स्थित विरेन्द्र सभागृहमा हुने संघको पहिलो निर्वाचनकालागि उम्मेद्वारीको अन्तिम नामावली प्रकाशित भएपछि उम्मेद्वारहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई तिब्र पारेका छन् । नयाँ नेतृत्वको लागि दुई समुहले प्यानलै उम्मेद्वारी दर्ता गराएका छन् भने केहिले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् ।
यस अघिसम्म कोशी अंञ्चल स्तरिय समितिकोलागि चुनाव हुँदै आएकोमा यस वर्षदेखि जिल्ला स्तरिय चुनाव हुने भएकोलेपनि औषधी व्यवसायीहरु वीच नौलो अभ्यासका कारण चुनावी सरगर्मी बढेको छ ।
संघको नयाँ कार्य समितिका ९ पदमा हुने निर्वाचनमा २२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले जानकारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृत श्रेष्ठका अनुसार संघको अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदकालागि उम्मेद्वारी दर्ता गराउनेमा नेपाल औषधी व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य एवं औषधी व्यवसायी संघको खुद्रा उपसमितिको संयोजक लक्ष्मीप्रसाद तिम्सिना , कोशी अंचल शाखाका वर्तमान महासचिब हरिमोहन श्रेष्ठ, पूर्व उपाध्यक्ष यतिश श्रीवास्तव रहेका छन् ।
२०५३ सालदेखि औषधी व्यवसायमा आवद्ध भएका तिम्सिनासँग केन्द्रीय सदस्य र संघको खुद्रा उप समितिको संयोजक भएको अनुभाव रहेको छ भने तीन दशकदेखि औषधी व्यवसायमा आवद्ध श्रेष्ठसँग दुई कार्यकाल संघको कोशी अंचल शाखाको महासचिब भएर काम गरेको अनुभव रहेको छ ।
तिम्सिना र श्रेष्ठ छुट्टाछुट्टै समूह बनाएर सबै पदमा प्रतिष्पर्धामा उत्रिएका छन् । तिम्सिना समूहले वर्तमान कोशी अंचल शाखाले यस क्षेत्रमा देखिएका औषधी व्यवसायका विकृति र विसंगतिहरुलाई नियन्त्रण गर्न नसकेको , सबैलाई मिलाएर औषधी व्यवसायको गरिमा बढाउन नसकेको जस्ता आरोप लगाएका छन् । त्यस्तै श्रेष्ठ समुह पनि विभिन्न कारणले सानातिना घटनाहरु भएपनि सबैलाई मिलाएर संघ र औषधी व्यवसायमा देखिएका केहि वेथितिहरुलाई रोक्न सफल भएको र आउनेदिनमा यस क्षेत्रमा देखिने गरेका विकृति विसंगतिहरु नियन्त्रण गर्न लागिपर्ने प्रतिबद्धता जनाउँदै चुनावी मैदानमा उत्रिएको छ ।
तिम्सिना र श्रेष्ठले समूह बनाएर र अन्य केहि उम्मेदवारले स्वतन्त्र भएर उम्मेद्वारी दिएपछि औषधी व्यवसाय क्षेत्रमा चुनावी माहोल तातेको छ । तिम्सिनाको समूहबाट उपाध्यक्षमा नेपाल औषधी संचालक संघ,केन्द्रीय तदर्थ समितिका संयोजक देशवन्धु ढकाल, महासचिबमा गोल्डेन अस्पतालका संचालक समेत रहेका दिनेश ठाकुर, कोषाध्यक्षमा सुदिप निरौला, सचिबमा हरिराज रेग्मी, सह–कोषाध्यक्षमा पुष्पराज पोखरेल र सदस्यहरूमा अनिल चौधरी, प्रकाश धिमाल, जय प्रकाश राय (ज्ञानु) को उम्मेदवारी रहेको छ ।
तिम्सना समूहबाट उपाध्यक्षमा उम्मेद्वारी दिएका ढकाल देशका विभिन्न स्थानमा अर्काको व्यवसायीक प्रमाणपत्र भाडामा लिएर औषधी पसल संचालन गर्दै आएकाहरुलाई लगानीको सुरक्षाको ग्यारेण्टि गराई मालिक बनाउने व्यक्तिको रुपमा चिनिन्छन् । ढकाल औषधी व्यवसायलाई मर्यादित, स्वस्थ्य प्रतिष्पर्धात्मक र लगानि सुरक्षित बनाउने अभियानका अभियन्ताका रुपमापनि चिनिन्छन् ।
त्यस्तै हरिमोहन समूहबाट उपाध्यक्षमा सुदिनध्वज श्रेष्ठ, महासचिबमा जितेन्द्र (जितु) रजक कोषाध्यक्षमा विजयकुमार राजवंशी, सचिबमा देवीप्रसाद दुलाल, सह–कोषाध्यक्ष राजकुमार यादव, सदस्यहरुमा चन्द्रबहादुर पराजुली र सरिता चौधरीको उम्मेदवारी रहेको छ ।
दुई समूह बाहेक स्वतन्त्र रुपबाट मनोजकुमार मिश्र र सुरेन्द्रकुमार मेहताले पनि महासचिबमा उम्मेद्वारी दिएका छन् ।
दुबै समूहका चुनावी एजेन्डा यस्ता छन्
संघको चुनावमा उम्मद्वारी दिएर दुवै समूह अहिले आ–आप्mनो एजेन्डा सुनाउँदै विराटनगरका सबै औषधी पसलहरु, उर्लावारी, पथरी, वेलवारी, विराटचौक, रमाइलो, रंगेली लगायतका स्थानमा पुगेर मतदातासँग भोट माग्दै आएका छन् । तिम्सिना समूहले सामुहिक प्रतिबद्धता पनि मतदात बिच जाहेर गरेको छ ।
तिम्सिना समुहले व्यवसाय भित्र देखापरेका विकृतिहरूलाई सरोकारवाला र नियामक निकाय बिचको सहकार्यमा नियन्त्रण गरि व्यवसायमैत्री वातावरण निर्माण गर्ने , औषधी व्यवस्था विभागसँग समन्वय गरि निर्धक्क एवं भयरहित भई व्यवसाय संचालन गर्न पाउने व्यवस्था मिलाउने, अत्यावश्यक जीवन रक्षक औषधीहहरुको सहज उपलब्धताको लागि क्रियाशील रहँदै यसको आडमा हुने कालोबजारी तथा व्यवसायीहरुलाई परेको असुविधालाई निराकरण गर्न पहल गर्ने प्रतिबद्धता पत्र समेत जारी गरेको छ । त्यस्तै तिम्सीना समुहले फार्मेशी सहायकको तालिमको व्यवस्थाकालागि पहल गरि केन्द्रबाट आएका कार्यक्रमहरु पारदर्शी ढंगले संचालन गर्ने, औषधी व्यवस्था विभागमा दर्ता भएका तर एनसिडीएमा दर्ता नभएका बहुसंख्यक व्यवसायीहरुलाई सदस्य बनाउन पहल गर्ने र संघका निर्णय र गतिविधिहरुलाई सहज ढंगबाट सदस्यमाझ पु¥याउने सामूहिक प्रतिवद्धतामा उल्लेख गरेको छ ।
त्यस्तै अध्यक्षका अर्का उम्मेदवार श्रेष्ठ समुहले पनि ‘व्यवसायिक हक हितको निम्ती परिवर्तन हैन सक्षम नेतृत्व, हल्लामा हैन सल्लाहमा व्यवसायिक एकता’ भन्ने मुख्य नारा राखेर चुनावी एजेन्डा सार्वजनिक गरेको छ । श्रेष्ठको समूहले संघलाई आर्थिक रुपमा सवल बनाउन विभिन्न कार्यक्रम गर्ने, आयकर सम्बन्धि राजस्व कार्यालयसँग समन्वय गर्दै सम्पूर्ण व्यवसायीलाई कर सबन्धि ज्ञानमुलक तालिमको व्यवस्था गरिने , सम्पूर्ण औषधी व्यवसायीहरुको नेपाल सरकारको स्वास्थ्य विमा सेवा दिन पाउनु पर्नेमा पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
औषधी व्यवस्था विभाग विराटनगरमा मोरङ जिम्लाभरी १ हजार १ सय ४८ वटा औषधी पसल दर्ता रहेको रेकर्ड भए पनि औषधी व्यवसायी संघमा भने ५ सय २१ जनामात्रै आवद्ध रहेका छन् ।