पूर्वाञ्चल खबर
काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाने भएका छन् । अजरबैजानको बाकुमा हुने अ असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री ओली आज बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत बाकुतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रेस संयोजक अधिकारीका अनुसार, प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि बाकु जाने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली सम्मेलन सकाएर कात्तिक १० गते आइतबार लक्ष्मीपूजाका दिन स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।
अजरबैजानमा प्रधानमन्त्री ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिस्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन् । मडुरोको पक्षमा सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य निकालेपछि अमेरिकाले आपत्ति प्रकट गरेको थियो ।
प्रधानमन्त्री ओली स्विजरल्यान्डमा रहेका बेला दाहालले वक्तव्य निकालेका थिए । भेनेजुयलाको विषयमा अमेरिकालाई चिढ्याएको भन्दै दलभित्रै विवाद भएको थियो । भेनेजुयलासँग नेपालको खासै सम्बन्ध नभए पनि विचारधाराका कारण भन्दै दाहालले विज्ञप्ति निकालेका थिए ।
नाम सम्मेलन साइडलाइनमा भेनेजुयलाकै आग्रहमा प्रधानमन्त्री ओलीले मडुरोलाई भेट्न लागेका हुन्। मुडुरो नामको वर्तमान अध्यक्ष हुन्। ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम छ। वार्ताबारे प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छैन ।
प्रधानमन्त्री ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनकाई नायडुलगायतसँग भेटघाट गर्नेछन् । सम्मेलनमा भारतले आलंकारिक उपराष्ट्रपतिलाई सहभागी गराएर असंलग्न आन्दोलनको महत्त्वबाट बाहिर रहन खाजेको सन्देश दिएको छ। १७ औं शिखर सम्मेलनमा पनि भारतले उपराष्ट्रपति नै पठाएको थियो। यो सम्मेलनमा नेपालबाट उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका थिए ।
शिखर सम्मेलनमा ओलीले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ । नेपालको कूटनीतिक पाटोको मुख्य अंशका रूपमा रहेको असंलग्नताको अपरिहार्यता रहेको भन्दै प्रधानमन्त्री अजरबैजानको बाकु जान लागेका हुन् । ‘असंलग्नताको महत्त्व अहिले झन् बढेको र नेपालजस्ता मुलुकका लागि यसको अपरिहार्यता विशेष छ’, प्रधानमन्त्री ओलीले आइतबार अन्नपूर्णसँग भनेका थिए, ‘पछिल्लो समय विश्व शीतयुद्धमा नभए पनि अनेकन युद्धको त्रास बाँकी रहेकाले पनि असंलग्नता अपरिहार्य आवश्यक छ ।’