पूर्वाञ्चल खबर
विराटनगर / मोरङको जहदा गाउँपालिकास्थित शैलजा आचार्य पोलीटेक्निकमा कार्यरत कर्मचारी र प्रशिक्षकले न्यूनतम सेवा सुविधाको माग राख्दै कृष्णप्रसाद कोइराला सेवा गुठी केन्द्रीय कार्यालय विराटनगरमा धर्ना दिएका छन् ।
पोलीटेक्निकमा कार्यरत प्रशिक्षक र कर्मचारीलाई श्रम ऐन अनुसार न्यूनता वेदन र सेवा सुविधा नदिएको भन्दै आइतबार गुठीको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तत्काल व्यवस्थापन पक्षले प्रशिक्षक र कर्मचारीको मागलाई सम्बोधन नगरे सोमबार कृष्णप्रसाद कोइराला सेवा गुठीको केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्धी गरि कामकाज ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् । उनीहरूले शैलजा आचार्य पोलीटेक्निमा कार्यरत कर्मचारी र प्रशिक्षकहरुलाई राज्यले तोकेअनुसारको न्यूनतम वेतन पनि नदिएर श्रम शोषण गरेको भन्दै विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी पनि दिएका छन् ।
उनीहरूले यस अघि शैलजा आचार्य पोलीटेक्निकको कामकाज ठप्प पारेका थिए । उनीहरूको माग पुरा नभएपछि केन्द्रीय कार्यालयमा आएर धर्ना दिएको बताइएको छ । कृष्णप्रसाद कोइराला सेवा गुठी र सिटिइभिटीको संयुक्त साझेदारीमा संचालित सो पोलिटेक्निमा ७० जना प्रशिक्षक र कर्मचारी कार्यरत छन् । संचालक समितिलाई पटकपटक सरकारी नियमअनुसारको तलब सुविधा उपलब्ध गराउन माग गर्दै आएपनि सुनवाइ नभएपछि उनीहरू आन्दोलित छन् ।