पूर्वाञ्चल खबर
विराटनगर / शुक्रबारदेखि विराटनगरमा सुरु भएको विद्यालय नाटक महोत्सवमा आज नाटक ‘अँध्यारो बाटो’ मञ्चन भएको छ ।
विराटनगरको श्री सत्यनारायण मा.वि. ले तयार पारेको नाटक हाटखोलास्थित सुशीला कोइराला नाटक घरमा मञ्चन गरिएको हो । नाटकले सामाजिक परिवेश र समाजका बेथितीहरुलाई समेटेको थियो । विद्यालयका शिक्षक लोकनाथ नेपालद्धारा लिखित तथा निर्देशित नाटक ‘अँध्यारो बाटो’ खासगरि चेलीबेटी बेचबिखन र उनीहरुको पूर्नस्थापनामा हुने समस्यामा केन्द्रित थियो ।
आरोहण–गुरुकुल विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा सुरु भएको नाटक महोत्सव भाद्र २९ गतेसम्म चल्नेछ । नाटकप्रति आकर्षित विद्यार्थीहरुलाई सहभागी गराई नाटक महोत्सव गर्दा विद्यालयहरु प्रोत्साहित हुने र आगामी दिनमा नाट्य गतिविधिले तिब्रता पाउने आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।
आयोजक संस्थाको नाटक ‘म–नैतिक’ मञ्चनसँगै सुरु भएको महोत्सवमा विभिन्न ९ विद्यालयले दैनिक अपरान्ह ४ बजे नाटक मञ्चन गर्दैछन् । सो महोत्सवमा आइतबार श्री अन्नपूर्ण एकेडेमीले “मेहनत र परिश्रमको फल” मञ्चन गर्नेछ । यस्तै पेरागन एकेडेमी मा.वि.ले भदौ २३ गते सोमबार “दशैं”, सेन्ट जोसेफ स्कूलले भदौ २४ गते मंगलबार “लक्ष्मीपूजा”, सप्तकोशी से.बो. स्कुलले भदौ २५ गते बुधबार “छाउपडी”, बुढानिलकण्ठ से.ई.स्कुलले भदौ २६ गते बिहिबार “नासो”, लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कूलले भदौ २७ गते शुक्रबार “प्रधानमन्त्री”, श्री श्री रविशंकर विद्या मन्दिरले भदौ २८ गते सनिबार “चण्डालिका एक अनन्त प्रेम कहानी”र रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कूलले भदौ २९ गते “परिवेश” मञ्चन गर्दै नाटक महोत्सव समापन हुनेछ । नाटक महोत्सवमा सांग्रिला बुक्स र वाईवाई चाउचाउले सहयोग गरेका छन् ।