पूर्वाञ्चल खबर
काठमाडौं /सरकारले भारतबाट नेपाल प्रवेश गर्ने तरकारी तथा फलफूलको विषादी परीक्षण कडाई गरेको आफ्नै निर्णयबाट पछि हटेको छ ।
भारत तथा तेस्रो देशबाट आयात हुने तरकारीको नाकामा विषादी परीक्षण सुरु गरेको सरकार छिमेकी देश भारतको दबावका कारण पछि हटेको हो । सरकारको निर्णयपछि तरकारीको विषादी परीक्षण नगरी भित्रिन थालेका छन् ।भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगरिने भएको छ ।
गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राविधिक तयारी नपुगेको जानकारी मन्त्रिपरिषद्लाई गराएको थियो । मन्त्रिपरिषद्को बैठकले यही सुझावको आधारमा निर्णय फिर्ता लिएको मन्त्रालयनिकट स्रोतले जानकारी दिएको छ ।
भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको स्रोतले बतायो । आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएको मन्त्रालयले जनाएको छ।
विषादी परीक्षण पूर्वाधार नहुँदा तरकारी आयातमा समस्या सिर्जना भएको थियो । अहिलेलाई पुरानै प्रक्रियाबाट जाँचपास गराउने निर्णय गरिएको हो । मन्त्रिपरिषद्ले प्रयोगशाला बनाउने निर्णय समेत गरेको छ ।