पूर्वाञ्चल खबर
हेटौंडा / नेपाल ब्याडमिन्टन संघको आयोजनमा बिडब्लुएफ लेभल वन प्रशिक्षक प्रशिक्षण तथा सटल टाईम ट्युटरल कोर्ष सम्पन्न भएको छ ।
प्रशिक्षकहरुको कमि तथा सुविधा सम्पन्न स्थानमा मात्र ब्याडमिन्टनको विकास भईरहेको अवस्थालाई मध्यनजर राख्दै नेपालमा ब्याडमिन्टन संघले प्रशिक्षकहरु उत्पादन गर्ने उद्धेश्यले पहिलो चरणको लेभल वान प्रशिक्षक प्रशिक्षण कोर्ष आयोजना गरेको हो । यसका साथै खेलको विकासमा सुस्तता भईरहेको अवस्थालाई बिद्यालयस्तर देखिनै ब्याडमिन्टन खेलको विकास गर्ने उद्धेश्यले सटल टाईम ट्युटरल कोर्षलाई पनि साथ साथै लाने जमर्को स्वरुप उक्त कोर्ष पनि संचालन गरेको हो ।
हेटौंडामा चैत्र ६ देखि १२ गते सम्म भएको एक हप्ते कार्यक्रममा सहभागीलाई ब्याडमिन्टन एशियाका बिकास अधिकृत श्री साम्बेन्थान शिभपेरुमल र ब्याडमिन्टन एशिया क्षेत्रीय बिकास अधिकृत निखिल चन्द्रधरले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न जिल्लाका ३४ प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।
ब्याडमिन्टन खेलको विकास र विस्तारका लागि बिश्व ब्याडमिन्टन महासंघले विभिन्न राष्ट्रमा प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिने यस्तो कार्यक्रमले नेपालमा पनि ब्याडमिन्टन खेलको विकास गर्न मद्धत पुग्ने ब्याडमिन्टन एशियाका बिकास अधिकृत शिभपेरुमलले बताए । उनले कार्यक्रममा सहभागी प्रशिक्षकहरुको सिकाईको मेहनत र उत्साहले आगामी दिनमा नेपालमा ब्याडमिन्टन खेलको विकासमा निकैनै उत्साहजनक उपलब्धि हासिल हुनेमा आफु बिश्वस्त रहेको बताए ।
यस कार्यक्रमले आफुहरुले निकैनै राम्रो ज्ञान हासिल गरेको र उक्त ज्ञानलाई खेलाडी उत्पादन र खेलकुद बिकासमा दत्तचित्त भएर उतार्ने कार्यक्रममा सहभागी प्रशिक्षकहरुले बताए ।