पूर्वाञ्चल खबर
कुमोद अधिकारी
विराटनगर / १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले ९० वर्ष पुगेका वृद्धवृद्धाहरूलाई सम्मान स्वरुम घरमै पुगेर ५ हजार रुपैयाँ प्रदेश सरकारले प्रदान गर्ने भएको छ ।

प्रदेश सरकारको एक वर्ष पुगेको अवसरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यस्तो घोषणा गरेका हुन् । प्रदेश एक वर्ष पुरा गरेको अवसरमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विराटनगरमा आज आयोजना गरेको प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजानिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले चालु आर्थिक वर्षदेखि ९० वर्ष पुगेका वृद्धावृद्धाहरूलाई सम्मान स्वरुप नगद ५ हजार रुपैयाँ घरमै पुगेर प्रदान गरेको घोषणा गरे ।
‘९० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई प्रदेश सरकारले ५ हजार नगदसहित घर–घरमा सम्मान गर्ने छ,’ मुख्यमन्त्री राईले भने, ‘यो सानो र पहिलो प्रयास मात्र हो । प्रदेश सरकारले क्रमश प्रदेश र जनतालाई जोड्दै जानेछ ।’
मुख्यमन्त्री राईले सवै संरचना समयमै हस्तानतरण नहुँदा कानून अभावमा सरकारले अपेक्षा अनुसार काम गर्न नपाएको बताए । उनले आगामी दिनमा बस्तुनिष्ठ समिक्षा गरेर संबृद्ध प्रदेश खुशी नेपालीको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता गरे ।
उनले आगामी बर्षदेखि प्रदेशका ईमान्दार कर्मचारीहरुलाई प्रोत्साहन सहित पुरस्कृत गर्ने जानकारी समेत गराए ।
एक नम्बर प्रदेशमा ३ फागुन २०७४ मा पहिलो पटक मुख्य मन्त्री शेरधन राईको नेतृत्वमा पाँच सदसिय मन्त्री मण्डल गठन भएको थियो ।
प्रथम बार्षिकोत्सवलाई सम्बोधन गर्दै एक नम्बर प्रदेश प्रमुख डा गोबिन्दबहादुर तुम्वाहांङगले असहज परिस्थिती भएपनि एक नम्बर प्रदेश सरकारको काम सन्तोष जनक भएको बताए । उनले आगामी दिनमा चुनौतीको सामना गर्दै खुशी नेपाली सबृद्ध प्रदेशकालागि निरन्तर काम गर्न प्रदेश सरकारलाई शुभकामना दिए ।
एक नम्बर प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले कानून र संरचना अभावको चुनौती झेलेर पनि २३ वटा कानून निर्माण गर्न र संयन्त्र आफै निर्माण गरेर परिचालन गर्न सफल हुनुले प्रदेश सरकार सफल भएको वताए । उनले आगामी दिनमा प्राकृतिक स्रोतसाधानलाई पूर्ण उपभोग गदै सरकार अगाडी बढेमा साँच्चै एक नम्बरको हुन सक्ने बताए ।
प्रदेश सरकारले दियो सुरक्षा निकायलाई १० करोडको सवारी
१ नम्बर प्रदेश सरकारले सुरक्षा निकायलाई १० करोड ५८ लाख ३४ हजार मुल्य बरावरको सवारी साधन खरिद गरि हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सरकारको प्रथम बार्षिकोत्वसको अवसरमा आज आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शेरधन राईले नेपाल प्रहरी, शसस्त्र प्रहरीलाई मोटरसाइकल, पिकअप जीपलगायतका सवारी साधनको चाँबी हस्तान्तरण गरेका हुन् ।
प्रदेश सरकारले २ सय ४५ वटा मोटरसाइकल र १५ थान फोर डबलु.डि. टाटा जेनन पिकअप गाडी सुरक्षा निकायलाई प्रदान गरेको हो ।
१ नम्बर प्रदेश प्रहरी विराटनगरका प्रमुख डिआईजी केदार रिजाल र सशस्त्र प्रहरीका डिआइजी मन्दिप श्रेष्ठलाई सवारी साधनको साँचो मुख्यमन्त्री राईले हस्तान्तरण गरे ।