पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिका स्थित भृकुटी चोक खण्डमा विजुलीको नयाँ पोलमा तार सार्नेक्रममा करेन्ट लागेर तीन जना घाईते भएका छन् ।
आज दिउँसो कोशी राजमार्गको विराटनगर भृकुटी चोक खण्डमा बिजुलीको नयाँ पोलमा तार सार्ने क्रममा करेण्ट लागेर तीन जना घाइते भएका हुन् ।
करेण्ट लागेर विराटनगर– ४ का ३० बर्षका रिहान मिया, २१ बर्षका मुकेश पासवान र सन्दीप पासवान घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मुकेश र सन्दीप दाजुभाई हुन् । घाइतेको विराटनगर अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये रिहानको अवस्था गम्भीर छ । शरीरको आधा भाग जलेका रिहानलाई भेण्टिलेटरमा राखिएको छ । विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले विराटनगरको विभिन्न स्थानमा लाईन अरुद्ध हुने जानकारी अघिल्लो दिन देखि नै सुचना प्रवाह गर्दै आएको थियो । तर एकाएक मुख्य लाईनमा नै विद्युत छाड्दा आफुहरुलाई करेन्ट लागेको उनीहरुले बताएका छन् । मजदुरहरुले बिद्युत प्राधिकरणको गल्तीका कारण घटना भएको बताएका छन् ।
प्राधिकरणले आफ्नो गल्ती नभएको स्वीकार गरेको छ । निर्माणको जिम्मा लिएको कृष्ण बोहराको भुमी कन्ष्ट्रक्सनले मजदुरका लागि सामान्य सुरक्षा ब्यवस्था नगर्दा घटना हुन गएको बिद्युत प्राधिकरणले जनाएको छ । नेपाल बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले भुमी कन्ष्ट्रक्सनले मागेको एउटा भृकुटी फिडरको लाईन काटिएको थियो । त्यो सहित अन्य ४वटा फिडरको पनि लाईन काटिएको उनले जानकारी दिए । भुमी कन्ष्ट्रक्सनले अर्को पेटी ठेकेदारलाई कामको जिम्मा दिएको समेत पाईएको छ । भृकुटी फिडरकोलागि मात्र बिद्युत कटौती गर्न विराटनगर गेटदेखि पाञ्चालीसम्मको बिद्युत कटौती भएको थियो । तर त्यो बाहेकको अर्कै फिडरलाई चलाउनु बिद्युत प्राधिकरणको नियम बिपरित भएकोले ठेकेदार कम्पनीलाई यस बारेमा भनिसकिएको छ, प्रमुख सिंहले भने ।