सातौ राष्ट्रिय खेलकुद-पुरूष फुटबलमा पुलिस क्लब र मध्यामञ्चल विजयी
पूर्वाञ्चल खबर
७ पुष २०७३, बिहीबार २१:५५
3
Shares
७ पुस,धरान/ पूर्वाञ्चलको धरानमा आज देखि सुरू भएको सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब र मध्यामञ्चलले विजयी सुरुआत गरेका छन् ।
धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा पुलिसले पूर्वाञ्चललाई २–१ को गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरूआत गरेको हो ।
पहिलो हाफको १९ औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई अग्रता दिलाए भने पहिलो हाफकै ३१ औं मिनेटमा बुद्ध लामाले दोस्रो गोल गरे । पुर्वाञ्चलले दोस्रो हाफमा एक गोल फर्कायो । दोस्रो हाफको २४ औं मिनेटमा पुर्वाञ्चलका दिपक राईले फ्रि किकबाट गोल गरेका थिए ।
दोस्रो खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३–० गोलअन्तरले हरायो । मध्यमाञ्चलले तीनै गोल दोस्रो हाफमा गरेको थियो । मध्यमाञ्चलका लागि निरबहादुर आले, रुमेश बर्तौला र श्याम बाबुले गोल गरे । दोस्रो हाफको १९ औं मिनेटमा निरबहादुरले मध्यमाञ्चलका लागि खाता खोले भने ३२ औं मिनेटमा रुमेशले गोलअन्तर दोब्बर पारे । ३९ औं मिनेटमा करिब ३० यार्डको दूरीबाट आकर्षक गोल गर्दै श्याम बाबुले मध्यमाञ्चलको जित अन्तर फराकिलो बनाए । शुक्रबार पहिलो खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मध्यपश्चिमाञ्चल तथा दोस्रो खेल सुदूरपश्चिमाञ्चल र नेपाल आर्मी क्लबबीच हुनेछ ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा खेल्नेछन् । समूह ‘क’ मा प्रहरी, पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यमाञ्चल तथा समूह ‘ख’ मा एपीएफ, मध्यपश्चिमाञ्चल, साविक विजेता सुदूरपश्चिमाञ्चल र आर्मी रहेका छन् । समूह विजेता र उपविजेता सीधै सेमिफाइनलमा पुग्नेछन् ।
महिला फुटबल सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको जित
७ पुस,दुहवी/ सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत महिला फुटबलमा बिहीबारको खेलमा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले जित हात पारेका छन् । यद्यपि दुवै प्रतियोगिताबाट बाहिरी सकेका छन् । समूह ‘क’ बाट नेपाल प्रहरी विजेता र एपीएफ उपविजेता तथा समूह ‘ख’ बाट नेपाल आर्मी विजेता र मध्यमाञ्चल उपविजेता हुँदै बुधबारै सेमिफाइनलमा पुगिसकेका छन् ।
सुनसरीको दुहबी रंगशालामा भएको खेलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित ग¥यो । सुशीला चौधरीले निर्णायक गोल गरिन् ।
अर्को खेलमा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चललाई २–१ ले हरायो । आशा शाहीले ३१ औं मिनेटमा गोल गर्दै मध्यपश्चिमाञ्चलाई १–० को अग्रता दिलाइन् । ५० औं मिनेटमा पूर्वाञ्चलकी मुना लावतीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा पु¥याइन् । मध्यपश्चमाञ्चलकी मन्जु चौधरीले ६२ औं मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरिन् ।