पूर्वाञ्चल खबर
विराटनगर / मोरङ समाज काठमाडौंले मोरङको ग्रामथान गाउँपालिकाका दुई विद्यालयका ५ सयभन्दा बढी बालबालिकालाई स्वीटरका साथै कपी, पेन्सिल आदि शैक्षिक सामग्री वितरण गरेको छ ।
समाजले वीरेन्द्र माविका सय बालबालिका र बेगनलाल माविका ४ सय बालबालिकालाई स्वीटर वितरण गरेको हो । त्यसैगरी बालबालिकाका आमाहरू सय जनालाई ओढ्ने वितरण गरेको छ ।
आदिवासी मुसहर जातिको बाहुल्यता रहेको सो ठाउँका बालबालिकाहरूले विद्यालय नछाडुन् र जाडोमा न्यानो कपडा लाउन पाउन् भन्ने उद्देश्यले आदिवासी बसोबास गर्ने क्षेत्रमा गएर समाजले स्वीटर तथा शैक्षिक सामग्रीहरू वितरण गरेको हो ।
कार्यक्रममा सो क्षेत्रका प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, १ नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, मोरङ समाज काठमाडौंका अध्यक्ष कृष्णमुरारी कोइराला, पूर्व अध्यक्ष रमेश बस्नेत, समाजका पदाधिकारी एवं सदस्यहरू, पूर्व सांसदहरू, गाउँपालिकाका अध्यक्ष एवं सदस्यहरू, समाजसेवीहरू समेतको उपस्थिति थियो ।
मोरङ समाज काठमाडौंले विभिन्न समयमा यस्ता मानव सेवा तथा सामाजिक कार्यक्रमहरू गर्दै आइरहेको छ । गत सालको बाढीको समयमा पनि मोरङका बाढी पीडितहरूलाई सेवा पुर्याएको थियो ।
समाज मोरङको विभिन्न ठाउँबाट काठमाडौं गई त्यहाँ बस्नेहरूले खोलेको हो । स्थापना कालदेखि नै समाजले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको समाजका अध्यक्ष कृष्णमुरारी कोइरालाले बताए ।