पूर्वाञ्चल खबर
विराटनगर / भारतीय नगरिकलाई नागरिकताको सिफारिस गरिदिएको आरोपमा मुद्दा खेपिरहेकी विराटनगर महानगरपालिका वडा की सचिव पुष्पा तिम्सिना १ लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी छिन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको आदेशले वडा सचिब तिम्सिनालाई छुटा–छुट्टै चार मुद्दामा मुलकी फौजदारी कार्यविधि (सिंहिता) ऐन २०७४ को दफा ६८ बमोजिम २५ हजार रुपैयाँ धरौटिमा छोडन आदेश दिएका थिए ।
अदालतको आदशेपछि तिम्सिनाले चार मुद्दामा २५ हजार रुपैयाँको दरले १ लाख रुपैयाँ बुझाएपछि धरौटीमा छुटेकी जिल्ला अदालत मोरङले जनाएको छ । वडा सचिव तिम्सिना सुटुक्क अदालत उपस्थीति भएकी थिइन् ।
वडा सचिव तिम्सिनाले भारतीय नागरिक रोशनकुमार पोद्दारलाई नागरिकताको लागि ०७२ असार १० गते, राजेन्द्र पोद्दारको २०७१ पुस २० गते, जितेन्द्र पोद्दारको ०७४ वैशाख २८ गते तथा २०७३ साउन १६ गते मिथिलेस र पवन पोद्दारको अनुसुची फारममा सिफारिस गरिदिएको अभियोग लागेको थियो ।
यस अघि पनि भारतीयलाई नागरिकता सिफारिस गरिदिएको आरोप लागेको विराटनगर १ का वडा अध्यक्ष उद्धब अर्याललाई समेत १२ हजार रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश गरेको थियो । उनले पनि धरौटी बुझाएर छुटे । एक दिनको अघि पछि वडा अध्यक्ष र सचिव अदालत उपस्थिति भएका हुन् । वडा अध्यक्ष अर्यालले २ जना भारतीय नागकिरलाई नागरिकता सिफारिस गरिएको छुटा–छुट्टै दुई वटा मुद्दा लागेको थियो ।
झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको मुद्दामा अध्यक्ष अर्याल, किर्ते कागजपत्र जुटाइ दिने सदस्य साह र वडा सचिव तिम्सिनासहित १५ जनालाई मोरङ अदालतले पक्राउ गर्न १९ कार्तिकमा आदेश गरेको थियो । अदालतको आदेशपछि वडा अध्यक्ष र सचिब सुटुक्क अदालतमा उपस्थित भएर आदेश पछि धरौटीमा छुटेका छन् भने सदस्य साह फरार रहेका छन् ।