१ पुस,विराटनगर/ वितेको एक वर्षको अवधिमा मोरङमा मानवअधिकार हनन् र उल्लंघनका ९९ घटना भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले पछिल्लो ११ महिनामा जिल्ला भएका घटनाहरु संकलन गरी वर्ष पुस्तकमा प्रकासनकालागि तयारी गरेको घटनाहरु शुक्रवार सार्वजनिक गरेको हो ।
९९ सय घटनामध्य राज्य पक्षबाट मानवअधिकार उल्लंघनका तीन घटना भएका छन् भने गैह्र राज्यपक्षबाट ९३ घटना भएका छन् । ति घटनाहरुमा राज्यपक्षबाट ९ जना पीडित भएका छन् भने ग्रैह राज्यपक्षबाट भएको घटनामा ९८ जना व्यक्तिहरु पीडित बनेको उल्लेख गरिएको छ ।
पछिल्लो एक वर्षमा जिल्लामा १३ जनाको हत्या भएको छ । विभिन्न १२ घटनामा १३ जनाको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । हत्या भएकाहरु मध्ये पुरुष १० जना छन् भने महिला तीन जना छन् । प्रतिवदेनले कम उमेरका किशोर किशोरीहरु हत्याका घटनामा बढी जोडिएको भन्दै चिन्ता जनाएको छ । यस्तै घरेलु हिंसाबाट ५० जना, बलात्कारबाट ७ जना र बलात्कार तथा यौनजन्य दुव्र्यवहारबाट तीन जना महिलाहरु पीडित भएको उल्लेख गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका पूर्वाञ्चल प्रमुख सोमराज थापाले वर्ष पुस्तकमा प्रकाशन गर्नु पूर्व कुनै घटनाहरु नछुटुन् र तथ्यमा फरक नपरोस् भनेर पूर्व छलफल कार्यक्रम आयोजना गरेको बताएका छन् । उनले तथ्यहरुलाई थप विश्वासिलो बनाउन र समाजमा हुने मानवता विरोधी घटनाहरुलाई निरुत्साहन गर्न यस प्रकारको तथ्यांकहरुलाई लिपिवद्ध गरी सार्वजनिक गर्दै जानुपर्ने बताए ।