पूर्वाञ्चल खबर
बुहारी कुटने आमाजु दिदी होमा र विवाह गरेर ल्याएकी श्रीमतीलाई कानुनी मान्यता दिन अस्वीकार गर्ने श्रीमान खगेन्द्र घिमिरेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
माइती पक्षका कंडेल परिवारले जिल्ला प्रहरी कार्यालय मोरङमा पीडित भएकी देवीका कंडेल घिमिरेले उजुरी दिएपछि पछि आज आमाजु दिदी विराटनगर १ का होमा र देवीकाका श्रीमान खगेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङ महिला बालबालिका सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक जमुना बस्नेतका अनुसार पीडित कंडेलका श्रीमान् खगेन्द्र र आमाजु (दिदी) होमालाई नियन्त्रणमा लिएइको बताइन् । उनीहरुले देविकामाथि आइतबार राती कुटपिट तथा मानसिक यातना दिएपछि प्रहरीमा बाध्य भएर उजुरी गरिएको पीडितका दाजु कृष्ण कंडेलले बताए ।
खगेन्द्र रोजगारीका लागि विदेश जाने र आउने गरेका छन् । पक्राउ परेकी होमा नेपाली काँग्रेसको भातृ संगठन तरुणदलसँग आवद्ध छिन् । होमासहित अन्य दिदीबहिनीले बारम्बार बुहारीलाई कुटपिट र मानसिक यातना दिदैं आएको उनीहरूको आरोप छ ।
पाँचवर्ष अगाडी घिमिरे परिवारले विवाह गरि देविकालाई भित्र्याएका थिए । पाँच वर्षमा घिमिरे र कंडेलबीच एक सन्तान समेत भईसकेको छ । तर, विवाह भएको वैधानिक मान्यता पाउने विवाह दर्ता र कंडेलबाट जन्मिएकी छोरीको जन्मदर्ता गर्न घिमिरे परिवारले अस्वीकार गर्दै दैनिक यातना दिने गरेको स्थानिय बताउँछन् । पाँच वर्ष अगाडीदेखि नै मानसिक यातना भोग्न बाध्य बनाउँदै आएपछि स्थानीयले देवकालाई सहयोग गर्ने बाचासहित प्रहरीमा उजुरी दिन ल्याएको विराटनगर–१ आमा समुह अध्यक्ष मैया भट्टराईले बताइन् ।
बुहारीसँग छोराको सम्बन्ध बिच्छेद गराउने मनसायले घिमिरे परिवारको नाममा भएको सबै सम्पति समेत नामसारी गरेर अर्कैको नाममा राखिसकिएको स्थानिय बताउँछन् । पीडित देविकाका अनुसार विवाह भएको पाँच वर्षसम्म विवाह दर्ता गर्न अस्वीकार गरिएको र छोरी जन्मेपछि जन्मदर्ता समेत गर्न नमान्ने घरपरिवारले दैनिक ज्यादती गर्दै आएका हुन् । सम्बन्ध बिच्छेदको लागि दवाव दिने उनीहरुले विवाह दर्ता नभएपछि कानुन उपचार खोज्न नसक्ने भन्दै मानसिक तथा शारिरिक यातना दिदैं आएका हुन् ।
पीडितले विराटनगर महानगरपालिकाको न्यायिक समितिमा समेत आफ्नो गुनासो राखिसकेको छिन् । महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीलाई आफ्ना गुनासो राखेको विषय घरपरिवारमा भनेपछि कुटपिट सहनु परेकोले प्रहरीको शरणमा आउनु परेको बताइन् ।
प्रहरी निरीक्षक बस्नेतले बारम्बार घरेलु हिंसामा परेकी महिलालाई न्याय दिलाउने कामका लागि स्थानीयसँग छलफल भईरहेको बताइन् । अहिले पीडक दाजु बहिनी घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको उनले बताइन् ।