पूर्वाञ्चल खबर
भारतको राजस्थानबाट आएको धूलो नेपालको पश्चिमी भूभागबाट आँधीका रूपमा प्रवेश गरी पूर्वीय हावासँग मिश्रण हुँदा परेको पानी मानव तथा पशुपंक्षीका लागि हानिकारक रहेको भन्दै त्यस्तो पानी प्रयोग नगर्न आग्रह गरिएको हो ।
धमिलो र पहेलो रङको हिलो मिसिएको पानी कुनै पनि प्रयोजनका लागि उपयुक्त नरहेकाले संकलित पानी फाल्न विभागका महानिर्देशक डा. ऋषिराम शर्माले सुझाव दिएका छन् । उनले पहेंलो र हिलो मिसिएको पानी प्रयोग भएमा महामारी फैलिन सक्ने खतरासमेत औंल्याए ।
अकासे पानी संकलन गरेर कृषि, पशुचौपाया र घरायसी अन्य प्रयोजनमा प्रयोग गर्ने गरिएको छ । उनले अझै केही दिन वर्षाको पानी स्वच्छ नहुने पनि जानकारी दिए । उनले धुलोयुक्त पश्चिमी हावाको प्रवेश कमजोर नेपालको मनसुनी दक्षिण पूर्वी हावाको प्रभाव बलियो भएपछि विस्तारै मौसम सफा हुने बताए ।
‘हिजो साँझबाट देशका विभिन्न भू–भागमा पहेंलो धुलोसहितको धमिलो वर्षा भएको भन्ने विभिन्न माध्यमबाट जानकारी हुन आएकोमा विभागको ध्यान आकृष्ट भएको छ,’ विभागले विज्ञप्ति निकाल्दै भनेको छ, ‘भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले क्रमशः पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायुमण्डलमा विस्तार हुँदै नेपालको वायुमण्डलमा समेत प्रवेश गरेको हुँदा शुक्रबार रातिबाट परेको वर्षामा धेरै स्थानमा धमिलो वा पहेंलो रंगको हिलो मिसिएको पानी परेको देखिन्छ ।’
राजस्थान आसपासको मरुभूमिमा अझै पनि धुलोको हुरी चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सो हुरी राजस्थानबाट पूर्वतर्फ सरिरहेकाले नेपालको मध्य र पूर्वी क्षेत्रमा अझै केही दिन हिलोसहितको वर्षा हुनेछ र गत ८ जुनमा नेपालमा प्रवेश गरेको मनसुन सक्रिय भई देशको पश्चिमी भागसम्म फैलिसकेको छैन । मुलुकभर मनसुन सक्रिय नभएसम्म सो धुलोको प्रभाव नेपालको वायुमण्डल तथा नेपालमा हुने वषामा देखिने सम्भावना रहेको विभागका महानिर्देशक डा. शर्माले जानकारी दिए ।
मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा शुक्रबार राति पनि पानी प¥यो तर पानी अरू दिनको जस्तो सफा थिएन ।
मौसमविद् सुभाष रिमालका अनुसार यस्तो वर्षात् वायु प्रदूषणका कारण भएको हो । वायु प्रदूषणले यस्तो वर्षा भएको भए पनि नेपालको प्रदूषणका कारण नभई भारतको राजस्थानमा भएको धुलोसहितको हावाहुरीका कारण भएको उनले प्रस्ट पारे । राति पानी परेपछि हावामा रहेको धुलो पनि पानीसँगै नेपालको भूभागमा खस्दा धमिलो भएर पानी परेको विभागले प्रस्ट पारेको छ ।
‘यो नेपालको प्रदूषणका कारण भएको होइन, राजस्थानको मरुभूमिको धुलो नेपालको आकाशसम्म फैलिएकाले फोहोर पानी परेको हो,’ मौसमविद् रिमालले भने, ‘यस्तो वर्षा नेपालको पूर्वी क्षेत्रमा बढी भएको छ । अझै पनि नेपाली आकाशमा यस्तो धुलोको कण जम्मा भएर बसेकाले सामान्य वर्षा हुने क्षेत्रमा हिलो मिसिएको पानी देख्न सकिने सम्भावना छ ।’ आजको राजधानी दैनिकले यो समाचार छापेको छ ।