विराटनगरमा अत्याधुनिक सुविधा सम्पन्न नयाँबसपार्क बन्ने
पूर्वाञ्चल खबर
२० मंसिर २०७३, सोमबार १९:२६
3
Shares
२०, मंसिर,विराटनगर/ विराटनगरमा बन्न लागेको अत्याधुनिक सुविधा सम्पन्न नयाँबसपार्कको शिलान्यास गरिएको छ । विराटनगर–१५ स्थित साबिककै स्थानमा बनाइने अढाइ तल्ले बसपार्कको आज सोमबार शिल्यान्यास गरिएको हो ।
विराटनगर उपमहानगरपालिकाले साबिककै स्थानमा अत्याधुनिक सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण गर्न लागेको हो । नगर विकास कोषको ऋण सहयोगमा ८ करोड ४७ लाखको लागतमा सुविधा सम्पन्न बसपार्क बन्ने भएको हो ।
बसपार्क निमार्णका लागी नगर विकास कोष र विराटनगर उपमहानगरपालिकाबीच गत जेठमै सम्झौता भइसकेको थियो । बसपार्कको नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले शिलान्यास गरेका छन् । बसपार्क निर्माणका लागि ठेक्का पाएको काठमाडौंंको गौरी पार्वती निर्माण सेवा कम्पनिका संचालक रामकुमार थापाले १५ महिनामै बसपार्क बनाइसक्ने दाबी गरेका छन् ।
सिटि वसपार्क टर्मिनलको रुपमा बसपार्क निर्माण गरिने उपमहानगरपालिकाले जनाएको छ । अढाइ तल्ले बसपार्कमा काउन्टर, यात्रु बस्ने ब्यवस्था तथा सुविधा सम्पन्न पसल र होटलहरु समेत रहनेछन् । विराटनगर उप–महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाका अनुसार नयाँ बन्ने वसपार्क साना र ठूला गरी ५० वटा बस राख्न सक्ने क्षमताको हुनेछ ।
४१ बर्षदेखि संचालीत अव्यवस्थीत विराटनगर बसपार्कका कारण यातायात व्यवसायी र यात्रुहरुले निकै सास्ती भोग्नु परिरहेको छ । यसअघि पनि पटक–पटक बसपार्क बन्ने भनिएपनि कुरामै सिमिति हुने गरेको थियो । वर्षाको बेला पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धुलोको समस्या भोग्नु परिरहेको अवस्थामा सुविधासम्पन्न वसपार्क बन्ने भएपछि यातायात व्यवसायी, यात्रु र स्थानीयबासी समेत हर्षित भएका छन् ।
यसअघि पनि विभिन्न चरणमा बसपार्क निर्माण गर्ने भनेर योजनाहरु बने । तर विभिन्न कारणले ति योजना कागजमै सिमित हुन पुगेका थिए । तर अब भने बसपार्क निर्माण हुने पक्का भएको छ । ठेकेदार कम्पनीले दाबी गरे अनुसार १५ महिना भित्रमा बसपार्कको निर्माण कार्य पुरा हुने हो वा हैन त्यो भने हेर्न बाँकी नै छ ।