पूर्वाञ्चल खबर
बालुवाटारमा आयोजित क्रिकेट खेलाडीहरुको सम्मानमा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३–३ लाख दिने बताएका छन् । यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा समेत गरे ।
नामिबियामा सम्पन्न आइसिसि विश्व क्रिकेट लिग डिभिजन–२ मा दोस्रो हुँदै नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको थियो । नेपालले छनोटको पहिलो खेल आयोजक जिम्वाबेसँग खेल्नेछ।
फागुन २० देखि जिम्बावेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ रहेका छन् । नेपालले पहिलो खेल खेलेको ४ दिनपछि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि २–२ दिनको अन्तरमा नेपालले अफगानिस्तान र हङकङसँग खेल्ने तालीका रहेको छ । छनौट खेल अघि नेपालले २ वटा अभ्यास खेल खेल्नेछ । नेपालले फागुन १५ र फागुन १७ मा अभ्यास खेल खेल्नेछ ।
समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन् । सुपर सिक्समा लिग खेल हुनेछन् । शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।