RUMPUM
animated ellipse animated ellipse

सपथ ग्रहणका केही दृश्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ माघ २०७४, सोमबार ०६:२१
3
Shares
प्रदेश प्रमुख डा. गोविन्द तुम्बाले प्रदेशसभाका ज्येष्ठ सदस्य ७३ वर्षिय ओमप्रसाद सरवागीलाई शपथ खुवाउर्दै । तस्वीर- पुष्पराज थपलीया
विराटनगर, ८ माघ/ प्रदेशको राजधानीको लागि दबाबमुलक अभियान गर्दै आएको विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विरेन्द्र सभागृहको हलमा आइतबार प्रदेशसभाका सांसदहरुले सपथ लिए ।

मर्मत संभारको अभाब र महानगरकै वेवास्ताको कारण जीर्ण र कुरुप देखिएको सभागृहमा आयोाजित सपथ समारोहले देशकै धनी र अब्बल मानिएको प्रदेशकै अपमान गरिरहेको झल्को मिल्थ्यो ।

सभागृहको भत्किएको र चर्किएको भित्तो तथा भत्किएका कुर्सीले राज्यसंयन्त्रलाई नै ब्यंग्य गरिरहेको थियो । प्रदेशको राजधानीको लागि अभियान चलाएको बताउने महानगरका जनप्रतिनिधिले आफु निर्वाचित भएको ६ महिनामा राजधानी दावी गरिएको स्थानको एकमात्र सभागृहको हालत यस्तो राखेको भन्दै अन्य जिल्लाका सांसदहरुले व्यंग्य गर्न समेत भ्याएका थिए ।

ऐतिहासिक प्रदेश सभाका सांसदहरुको पहिलो सपथ ग्रहण समारोहमा सभागृहका थोत्रा र भत्किएका कुर्सीको स्थानमा प्लाष्टिकका कुर्सी राखिएको थियो । त्यो काम पनि महानगरपालिका र सरकारी निकायले नभएर विराटनगरका उद्योगी व्यवसायीले गरिदिएका थिए । सपथ ग्रहणमा सहभागी सांसद र अन्यलाई चिया र नास्ताको प्रवन्ध पनि उनीहरुले नै गरिदिए ।

प्रदेशको परिचय दिने प्रयास

सपथ ग्रहण कार्यक्रमा ९ जना पूर्व प्रधानमन्त्रीहरुको तस्वीर मञ्चमै सजाइएको थियो । विराटनगरमा जन्मिएका शाहीकालीन उपाध्यक्ष एवम् पूर्वप्रधानमन्त्री स्व.कीर्तिनिधि विष्टदेखि पूर्वप्रधानमन्त्रीहरु स्व. मातृकाप्रसाद कोइराला, स्व.विश्वेश्वरप्रसाद कोइराला, स्व.नागेन्द्रप्रसाद रिजाल, स्व. सुर्यवहादुर थापा, झलनाथ खनाल र केपी ओलीको तस्वीर राखिएको थियो भने साइडमा राष्ट्रपति विद्या भण्डारीको तस्वीर राखिएको थियो ।

रातो कार्पेट बिच्छ्याइएको सपथ ग्रहण समारोहस्थलमा प्रदेशको पहिचान झल्काउने सगरमाथादेखि भोजपुरे खुकुरीसम्मका तस्वीरहरु राखिएको थियो । प्रदेशका पर्यटकीय स्थलहरुको तस्वीर बाहिरपट्टी सजाइएको थियो । माकुराको जालो र फोहोर भरिएको सभागृहलाई कपडा र तुलहरु टाँगेर रातारात सजावट गरिएको थियो ।

व्यवस्थापन फितलो
शुक्रबार मात्र सपथ लिएर शनिबार मात्र प्रदेश प्रमुख विराटनगर आएको र प्रदेश प्रमुखको कार्यालय व्यवस्थापन भइनसकेकोले विराटनगर महानगरपालिका र स्थानीय प्रशासनले कार्यक्रमको व्यवस्थापन गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा मञ्चमै पर्याप्त स्थान भएपनि सांसदहरुलाई दर्शकदिर्घाकै एकातर्फ राखिएको थियो ।

सपथको बेला को सांसद र को अन्य भनेर छुट्याउनसमेत गाह्रो हुने अवस्था थियो । सपथ लिन उठेका सांसदसँगै उनीहरुलाई हेर्न अन्य सहभागी पनि उठेपछि पत्रकारलाई फोटो लिन पनि समस्या भएको थियो । यसअघि विराटनगर महानगरपालिकाका ९७ जना जनप्रतिनिधिको सपथ भने मञ्चमै गरिएको थियो ।

मुख्यमन्त्रीभन्दा माथिल्लो मर्यादामा रहने प्रदेश प्रमुख
डा.गोविन्दबहादुर तुम्बाहाङले व्यापारीले व्यवस्थापन गरेको नास्ता खुला चौरमा उभिएर लिएको दृश्यले व्यवस्थापनको निरिहता देखाइरहेको थियो । नास्ताको लाइनमा बसेका सांसद र अन्य सहभागीलाई मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले नास्ता आपूmले व्यवस्था गरेको भन्दै सरकारी निकायहरुलाई गिज्याइरहेका देखिन्थे ।

नास्ता र फोटोसेसनको लागि लगिएका सांसदहरुको बस्ने कुर्सीको व्यवस्थासमेत नहुँदा उनीहरुले उभिएरै नास्ता लिएका थिए । फोटो सेसनको लागि सांसदहरुलाई बोलाउँदै क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेल कुर्सीमाथि चढेर कराएको दृश्य र नगरपालिका कर्मचारी पुनम दाहालले सपथग्रहण समारोहमा देखाएको व्यवहार टिठलाग्दो देखिएको थियो ।

आयोजकलाई नै मायाको चिनो
कुनैपनि कार्यक्रममा प्रमुख अतिथि तथा अतिथि बनाएर बोलाइएका व्यक्तिलाई आयोजकले ‘मायाको चिनो’ प्रदान गर्ने गरिन्छ । प्रदेशसभाका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको हो । जुन कार्यक्रममा प्रमुख अतिथि कोही पनि थिएनन् ।

प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले प्रदेश प्रमुखलाई नै मायाको चिनो प्रदान गरे । उनीहरुले विराटनगरमा कार्यक्रम राखिदिएको भन्दै मायाको चिनो प्रदान गरेका थिए ।


कार्यक्रममा प्रदेशका प्रतिनिधिसभामा निर्वाचित सांसदहरुलाई पनि निम्त्याइएको थियो । मोरङसहित छिमेकी जिल्लाका प्रतिनिधिसभाका सांसद र पूर्वमन्त्रीहरु कार्यक्रममा पुगेका थिए । उनीहरुलाई मञ्चमा दर्शकदीर्घासँगै राखिएको थियो ।

प्रतिनिधिसभाका सांसदहरु दर्शकदिर्घामा बसेको र प्रदेश सांसदहरुले दर्शकदीर्घाबाटै सपथ लिइरहेको अवस्थामा उनीहरुभन्दा मर्यादाक्रममा धेरै तल रहेका महानगरका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्की भने मञ्चमा बसेका थिए । नेपाल सरकारले तय गरेको सरकारी मर्यादाक्रममा सांसदहरु १२ औं स्थानमा हुन्छन् भने महानगरका मेयर १८ औं स्थानमा छन् ।

मर्यादाक्रमको १७ औं स्थानमा रहने प्रहरी अतिरिक्त
महानिरीक्षक पशुपति उपाध्यायसहित अन्य नगरपालिकाका प्रमुख र उपप्रमुखहरु पनि दर्शकदिर्घामा रहेको बेला महानगरका मेयरको मञ्चासनलाई सहभागीले पनि अस्वभाविक रुपमा लिएका थिए ।

प्रदेश सांसद राजकुमार ओझाले प्रदेशससभा सदस्यको सपथजस्तो ऐतिहासिक कार्यक्रममा मर्यादा उल्लंघन गर्ने काम महानगरका प्रमुख र उपप्रमुखले गरेको प्रतिक्रिया दिए । यो खबर आजको जनविद्रोह दैनिकमा छापिएके छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर